काठमाडौं– अबका दुई दिन देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिबार र शुक्रबारलुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाका अुसार भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले लुम्बिनी र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो । यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ । त्यसबाट दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
हाल देशभर नै मनसुनी वायुको प्रभाव छ । न्यूनचापीय प्रणाली भने सरदर स्थानको दक्षिणतिर छ । भोलिदेखि न्यूनचापीय प्रणाली सरदर स्थानतिर सर्ने सम्भावना छ । केही दिनयता पश्चिम भूभागमा पानी पार्ने प्रणाली केन्द्रित भएको छ । यद्यपि पूर्वी भूभागमा पनि पानी पर्ने सम्भावना छ ।
बिहीबार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया