वाइफाइको रिर्चाज नगरेको विषयमा विवाद हुँदा श्रीमतीको हत्या, छोरीहरु घाइते
बारा– बारामा घरायसी विवादमा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । उनको प्रहारबाट दुई छोरीहरुसमेत घाइते भएका छन् ।
बाराको निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार आमालाई बचाउन गएका छोरीहरु १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् ।
मंगलबार साँझ साढे ७ बजेतिर विमलकुमार मादकपदार्थ सेवन गरी घर गएका थिए । घरमा वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।
चारदिनदेखि घरको वाइफाइमा रिचार्ज नगरेको तर रक्सी खाने पैसा भएको भन्दै श्रीमतीले विवाद सुरु गरेकी थिइन् । सोही क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए ।
त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएका हुन् । जेठी छोरी गंगाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
विमललाई भने पक्राउ गरेर घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।