काठमाडौं– बालेनले आफ्नो फेसबुक पेजमा मुख्यतः दुई किसिमका पोष्ट राख्दै आएका छन् । पहिलो काठमाडौं महानगरपालिकाका काम र आएका समस्याबारे गुनासो र अर्को भने केन्द्र सरकार वा शीर्ष नेताहरुलाई गाली गर्नुप¥यो भने ।
अन्य नेताहरुलाई भन्दा बालेन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवादमा बढी छन् । कहिले गिरीबन्दु टि स्टेट, कहिले एमालेकी प्रदेश सभा सदस्यले बाल श्रमिक राखेको कुरा त कहिले नदी किनारको नयाँ मापदण्डका कारण बालेन र ओलीबिच टकराव चलिरहेको छ । दुई वर्षअघि मेयर पदमा निर्वाचित भएको समयमा बालेन ओलीलाई भेट्न ओली निवास बालकोटमा पुगेका थिए । उनीहरुको भेटघाटमा ओलीले बालेनलाई तबला उपहार दिएका थिए । तर पछिल्लो समय भने बालेन सामाजिक सञ्जालको प्रयोगबाट ओलीको तबला बजाइरहेका छन् ।
नेपाल संघीय गणतन्त्रात्मक मुलुक हो । जसअनुसार संघ, प्रदेश र स्थानीय तह गरी तीन सरकारमा विभाजन गरिएको छ । नेपालको संविधानले यी तीनै सरकारलाई एकल र साझा अधिकारहरु दिएको छ ।
काठमाडौं महानगरपालिका देशको राजधानीमा रहेको र सबैभन्दा धेरै जनसङ्ख्या रहेको स्थानीय तह हो । काठमाडौंले गर्ने कामहरुको सिको अरु स्थानीय तहले पनि गर्छन् । राजधानी पनि काठमाडौंमा नै भएकाले महानगरपालिका र संघ सरकारले मिलेर काम गर्नुपर्ने हुन्छ । तर स्थानीय तहले काम गर्दै गर्दा प्रदेश र संघ सरकारसँग कानुन बाझिने गरि काम गर्न पाउँदैनन् । त्यसैले कहिलेकाहि स्थानीय तहले गर्न चाहेका काममा बाधा पु¥याइरहेका हुन्छन् । यसले गर्दा बालेन आफुले गर्न चाहेको काम गर्न नपाउँदा सराकरसँग रुष्ट हुने गरेका छन् ।
राजनीतिमा आउनुअघि हिपहप क्षेत्रमा सक्रिय बालेन काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार भएपछि एकाएक सर्वसाधरणमाझमा पनि परिचिर भए । हाल बालेन नेपालमा सर्वाधिक रुचाइएका मेयर हुन् ।
यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका प्रधानमन्त्री केपी शर्मा ओली पनि कम चर्चित छैनन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका उनको एमालेका कार्यकर्ताभन्दा बाहिर आम व्यक्तिहरुले पनि उनलाई रुचाउनले गर्छन् ।
आज हामी नेपालका मुख्य दुई पदमा रहेर आफ्नो जीम्मेवारी निभाइरहेका यी दुई राजनीतिज्ञको वर्तमान अवस्थाका बारेमा तुलना गर्दैछौँ ।
विसं २००८ सालमा जन्मिएका खड्क प्रसाद अर्थात् केपी शर्मा ओली ७२ वर्षका भए । पहिलोपटक २०७२ सालमा नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए । उनको उक्त कार्यकाल १० महिनासम्म टिक्यो । २०७४ सालमा भएको चुनावमा नेकपा एमाले र माओवादीको गठबन्धन बाम गठबन्धनबाट दुई तिहाइ मत ल्याएर उनी दोस्रोपटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो। राष्ट्रपतिले बहुमतको आधारमा सरकार बनाउन तोकेको समयसिमामा कुनै पार्टीले प्रधानमन्त्रीको दाबी पेश नगरेपछि राष्ट्रपतिले नै उनलाई तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर सर्वोच्चले ओलीलाई हटाएर कांग्रेसका सभापति शेर बहादुर देउबालाई प्रधानमन्त्री बनाउन अन्तरिम आदेश दिएपछि ओली तीन वर्ष चार महिना प्रधानमन्त्री पदमा बसेर बाहिरिएका थिए । हाल उनी गत असार ३० गतेदेखि चौँथो कार्यकालमा रहेर प्रधानमन्त्रीको कार्यभार सम्हालिरहेका छन् ।
३४ वर्षका बालेन भने पेसाले इन्जिनियर हुन् । उनी इन्जिनियरिङका साथै हिपहप क्षेत्रमा समेत चर्चित छन् । उनले स्थानीय तहको दोस्रो निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरे ।
सुरुमा बालेनले काठमाडौंको मेयरमा उठ्ने घोषणा गर्दा उनले जित्छन् भन्ने अपेक्षा सायदै कसैले गरेका थिए होला । काठमाडौंमा एमालेबाट मेयर बनिसकेका केशव स्थापित र कांग्रेसकी नेतृ सिर्जना सिंहबिच कडा टक्कर हुने प्रक्षेपण गरिएको थियो । स्वतन्त्रबाट उठ्दा बालेनले मत राम्रै पाउने तर नजित्ने बरु त्यसले केशव र सृजनाको मतमा असर गर्ने भन्दै विश्लेषण सुरु भएको थियो । तर मेयरमा उम्मेदवारी दर्ता गर्दै बालेनले प्रचारप्रचार गर्न थालेपछि भने विश्लेषकहरुले मेयर पदमा उनको सम्भावना देख्न थालेका थिए ।
कला क्षेत्रमा जमेको, शिक्षित र आफ्नो व्यवसायमा जमेको युवा राजनीतिम होमिँदा जनताले उनमा आशाको किरण देख्न थाले । अन्ततः काठमाडौं बासीले भारी मतले बालेनलाई बिजय बनाए । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन थप लोकप्रिय हुँदै गएका छन् ।
दौरा सुरुवार र ढाका टोपी प्रधानमन्त्री केपी शर्मा ओलीले सँधैजसो लगाउने पहिरन हो । स्वभावको कुरा गर्दा प्रधानमन्त्री ओली भाषणले जनतालाई मन्त्रमुग्ध बनाउने खुबी राख्छन् । अरु नेताको भाषण सुन्न मन नपराउनेहरु ओलीको भाषण भने चासो मान्दै सुन्छन् । युवा र समयअनुसार उखान टुक्का जोड्दै भाषण दिन ओली माहिर छन् । युवाहरुमाझ ओलीको लोकप्रीयता अन्य नेताको तुलनामा निकै राम्रो छ ।
जिन्स पाइन्टसँग टिसर्ट र कोट अनि कालो चस्मा बालेनको पहिचान नै बनेको छ । बालेनको व्यवहार र जनतासँग अन्तरक्रिया जनाउने शैली ओलीको तुलनामा निकै भिन्न छ । सार्वजनिक कार्यक्रममा अति आवश्यक बाहेक कम नै देखिन्छन् बालेन । उनी भाषण गर्नु परेपनि मुख्य विषयवस्तुमा रहेर थोरै बोल्छन् । कुनैपनि काम गर्नुअघि भाषण गर्नु भन्दापनि काम गरिसकेपछि जानकारी दिनु बालेनको स्वभाव हो । घुमाइफिराई कुरा गर्नुभन्दा पनि चित्त नबुझेका कुरा सिधै भन्ने बालेको स्वभाव छ । यसका लागि उनी सामाजिक सञ्जालको साहारा लिँदै आएका छन् ।
३४ वर्षका युवा र ७२ वर्षका वृद्ध नेता सामाजिक सञ्जालमा उपस्थिति कस्तो छ भनेर तुलना गर्नु त्यती उचित नहुन सक्छ । तर उमेरले पाको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली प्रविधिसँग पनि उत्तिकै जानकार छन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी दैनिक रुपमा सामाजिक सञ्जालमा फोटो र भिडियो शेयर गरिरहेका हुन्छन् । बुधबारसम्ममा उनलाई सामाजिक सञ्जाल फेसबुकमा ६ लाख जनाले फलो गरेका छन् । उनले गर्ने पोष्टहरुमो सामान्यत १० हजारदेखि ३० हजारसम्म लाइक आउने गर्छन् । दुईदेखि पाँच हजार कमेन्ट र हजार सेयरसम्म हुने गरेका छन् ।
बालेनको कुरा गर्ने हो भने उनी दैनिक रुपमा आफ्नो पेजमा सामाग्रीहरु राख्दैनन् । तर जब बालेनले स्टाटस लेख्छन् एक पटक सामाजिक सञ्जाल तरङ्गीत बन्छ । उनका अधिकांश पोष्टहरुमा लाखभन्दा बढी लाइक आउँछन् । बालेनका फलोअर्सहरु निकै सक्रिय छन् । केहिदिनअघि बालेनले पोष्ट उडेको भनेर आक्रोशित हुँदै लेखेको स्टाटसमा बुधबारसम्ममा ३ लाख पाँच हजार रियाक्ट गरिएको छ । उक्त पोष्टमा ५१ हजारभन्दा बढी कमेन्ट र करिब नौ हजारपटक शेयर गरिएको छ । उनका अधिकांश पोष्टहरुमा पाँच देखि १० हजार कमेन्ट र पाँच हजारकै हारहारीमा शेयर गरिएका हुन्छन् ।
सामाजिक सञ्जालबाट बाहिर हेर्ने हो भने एमालेको विचारधारा मान्नेको जमात निकै ठुलो छ । एमालेका विचारधारा नमान्ने व्यक्तिहरुपनि ओलीको व्यक्तित्वका कारण उनलाई मनपराउने धेरै छन् । उनका भाषणहरु सुन्न बालबालिका, युवादेखि आम जनताको लर्को लागेको हुन्छ ।
यस्तै बालेनको कुरा गर्ने हो भने उनी स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित मेयर । उनलाई औपचारिक रुपमा पछ्याउने राजनीतिक पार्टी वा संगठन छैनन् । तर सामाजिक सञ्जालमा उनलाई मनपराउने युवा वास्तविकतामा पनि उनलाई निकै रुचाउँछन् । वास्तविक रुपमा बालेनका समर्थक यति छन् भन्न नसकेपनि नेपाली युवासहित पछिल्लो समय अन्य उमेर समुहका मानिसहरुमा पनि बालेनलाई मन नपराउने सयदै कोही होलान् ।
प्रतिक्रिया