फोटो सार्वजनिक भएपछि अभिनेता विराज भट्टका छोरा समिर भट्ट नेपाली सिनेप्रेमीको नजरमा पर्न सफल भए। यतिबेला उनी नेपाली सिनेप्रेमीमाझ चर्चाको पात्र बनेका छन् । नेपाली मेकरहरुको नजरमा उनी ‘हटकेक’ छन्। उनलाई सम्भावित सुपरस्टारका रुपमा हेर्न थालिएको छ। जिमले चट्ट मिलेको ज्यान, नाच्न र एक्सनमा पोख्त तथा अग्ला ज्यान परेका समीरमा एउटा स्टारमा हुनुपर्ने सबै विशेषता महशुस गर्न सकिन्छ। उनले अभिनयका लागि चाहिने सबै तालिम लिएका छन्। सटिकमा भन्नुपर्दा प्याकेजका हिरो मान्न सकिन्छ। उनको सम्भावना के हो भन्ने कुरा सिनेमा रिलिजपछि स्पष्ट हुँदै जानेछ।
हाल सार्वजनिक भइसकेको सिनेमाको टिजर र गीतले उनले राम्रै बाटो लिने बलियो सम्भावना देखाएको छ। यस्तै आफ्नो पहिलो औपचारिक अन्तरवार्तामा समीर आफ्नो करियरमा गम्भिर रहेको बुझ्न सकिन्छ। पहिलोपटक समिरको तस्विर सार्वजनिक भएपछि थुप्रै नेपाली सिनेमेकरले समिरलाई आफ्नो सिनेमामा खेलाउने उत्कठ इच्छा देखाए।
आफ्नो छोराप्रतिको मेकरमा उत्पन्न उत्कठ इच्छालाई नेपाली सिनेनगरीको नशानशा छाम्न जानेका विराजले नबुझ्ने कुरै भएन। समाचार सार्वजनिक भएपछि छोराले कमाएको चर्चा पनि उनले राम्ररी बुझें।
यी कारणले गर्दा विराजले छोरालाई होमप्रोडक्सनबाट डेब्यू गराउन लोभ गरेको चर्चा नेपाली सिनेवृत्तमा छ।
यसविच विराजले थुप्रै नयाँ-पुराना मेकर भेटें। ती भेटमा उनले छोराको मार्सलआर्ट, जिम्न्यास्टिक लगायतकाको ट्रेनिङ भिडियो देखाउने गरेका थिए। ती भिडियो हेरेकै भरमा मेकरहरु समिरलाई सिनेमा खेलाउन लालायित बनेका हुन्।
यसैबिच आफ्नो सिनेमाका लागि विविध कारणले भनेजस्तो हिरो नभेटेका र चाहेका हिरोले ‘बलिदान’ खेल्न नमानेपछि निर्माता सन्तोष सेनले ठूलो पारिश्रमिकमा समिरलाई ‘बलिदान’को मुख्य अभिनेता बनाए।
ठूलो क्यानभासमा सिनेमा बनाउन जोखिम मोल्ने निर्माताको परिचय बनाएका सेनले समीरलाई २० लाख बढि रकममा अनुबन्धित गरेको चर्चा छ।
यही परिदृश्यमा छोराले पाइरहेको चर्चाको नशा छाम्दै विराजले स्क्रिप्ट परिवर्तन गरेर ‘१२ गाँउ’ बनाएको चर्चा छ। यो चर्चालाई स्वंय समिरले आफ्नो पहिलो औपचारिक अन्तरवार्तामा स्वीकार गरेका छन्।
उनका अनुसार सुरुमा उनको भूमिका सानो थियो। तर विराजले सो भूमिकालाई बढाउँदै लगे र अहिले सिनेमामा समीरको भूमिका ठूलो र महत्वपूर्ण बनेको छ।
उनको यो अन्तरवार्तापछि विराजले छोराको बुईं चढेर नेपाली सिनेमामा आफ्नो करियरको म्याद थप्ने प्रयास गरिरहेको चर्चा चल्न थालेको छ।
सार्वजनिक टिजरमा छोरालाई धेरै स्पेस दिनु र पहिलो गीत पनि छोराकै रिलिज गर्नु अनि अन्तरवार्तामा आफ्नो भूमिका बढाइएको भन्ने समिरको भनाइले यसलाई बल दिन्छ।
विराजको यसअघि ‘साङ्लो’ सिनेमाबाट नेपाली रजतपटमा फर्किने प्रयास असफल भएको थियो। भोजपुरी सिनेमामा डिमान्डेड भएपछि नेपाली सिनेमा गर्न उदासिन रहेका विराजको अहिलेको भोजपुरी सिनेमा करियर खासै गतिमा छैन।
विराजका समकालिनहरु नेपाली सिनेमामा हाल निस्क्रियजस्तै छन्। यस्तोमा उनले छोराको चर्चालाई एउटा मौकाको रुपमा हेरेको हुनसक्छन्।
उनको यो बुझाइ कति सफल हुन्छ सिनेमा असोज २४ गते रिलिज भएपछि स्पष्ट हुने नै छ।
प्रतिक्रिया