उपसभामुख इन्दिरा रानाबारे ‘पर्ख र हेर’ अवस्थामा रास्वपा


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बुधबार सिंहदरबारमा बसेको सचिवालय बैठकले उपसभामुख इन्दिरा राना मगरबारे प्रतिनिधि सभामा प्रश्न उठेको विषयमा छलफल गरेको छ ।

हालसम्म उपसभामुखविरूद्ध औपचारिक रूपमा हस्ताक्षर दर्ता नभएकाले तत्कालको लागि पर्ख र हेर स्थितिमा बस्ने निष्कर्षमा पुगेको छ ।

उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो। उपसभामुख रानाले पदीय मर्यादा कायम नराखेको भन्दै उनको आचरणमा प्रश्न उठाएर मंगलबार प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसदहरूले राजीनामा पनि मागेका थिए।

यद्यपि यो विषयमा आफूहरुको सरोकार रहेको रास्वपाले जनाएको छ । जस्तो परिस्थिति आउँछ, त्यसको आक्रामक प्रतिवाद गर्न तयार रहेको रास्वपाको प्रवक्ता मनिष झाले बताए ।

भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु गलत भएपनि त्यो सम्बन्धित ठाउँमा दर्ता नै नभएको उनले बताए । साथै १८ महिनासम्म दबाएर राखेर अहिले राजनीतिक दाउपेचका लागि प्रयोग गर्न खोजिएको रास्वपाको बुझाइ छ ।