गठ्ठाघर दुर्घटनाका ट्रक चालक कारागार चलान


काठमाडौं– भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।

ना६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

२४ भदौमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले श्रेष्ठलाई कारागार चलानको आदेश दिएको थियो । सोहि आदेश अनुसार उनी कारागार चलान भएका हुन् ।
उनीविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२) को कसुरमा मुद्दा दर्ता गरिएको थियो । उक्त उपदफामा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ ।

गत साउन ३१ गते दिउँसो १ः४० बजेतिर श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिंदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

घटनापछि स्थानीयले ट्राफिकले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै गठ्ठाघर चोकमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्याँससमेत प्रहार गरेको थियो ।