Logo

साउन १५ यता जापानी इन्सेफ्लाइटिसको संक्रमणबाट ९ जनाको मृत्यु

काठमाडौं– मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिसको संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् । । गत साउन १५ यता जापानी इन्सेफ्लाइटिसबाट ५३ जना सङ्क्रमित भएको र ती मध्ये ९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

कैलालीमा तीन, सुनसरीमा दुई र सर्लाही, पाल्पा, चितवन तथा कपिलवस्तुमा एक एक जनाको उक्त रोगको सङ्क्रमणका कारण मृत्यु भएको हो । यस वर्षको मनसुन अवधिमा गत वर्षको तुलनामा सङ्क्रमितको सङ्ख्या घटेको तर मृत्यु हुनेको सङ्ख्या भने बढेको महाशाखाले जनाएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो ।

साउन र भदौ महिनामा यस रोगको संक्रमणदर उच्च हुन्छ । यसको मृत्युदरपनि उच्च रहेको छ । मृत्यु हुनेमा धेरैजसो जापानी इन्सेफ्लाइटिस विरुद्धको खोप नलिएका व्यक्तिहरू छन् । संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका बालबालिका छन् ।

जापानी इन्सेफलाइटिस मुख्यतया सुँगुर र चराहरूमा पाइने भाइरसबाट हुन्छ । क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने रोग हो । कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने यो रोगका प्रमुख लक्षण हो । यो रोग लागेमा मृत्युदर उच्च हुने र उपचारपछि निको भएको अवस्थामा पनि पक्षाघातको समस्या रहन सक्छ ।

यो रोगको कुनै निश्चित उपचार छैन तर लक्षण अनुसारको उपचार गरिने स्वास्थ्य विशेषज्ञले बताएका छन् । यसको नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ ।

जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने, घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न नदिन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्