आज सामाजिक संजालमा अभिनेत्री पूजा शर्माको एउटा अन्तरवार्ताको भिडियो क्लिप्स भाइरल भइरहेको छ। यो भिडियो भाइरल भईरहँदा पूजा शर्मा आफ्नो पछिल्लो रिलिज ‘रावायण’को व्यापार बढाउनका लागि दर्शक बटुल्ने अभियानका साथ पश्चिम नेपालको भ्रमणमा छिन्। उनको साथमा अभिनेता पल शाह छन्। रिलिज अगाडि ठूलो क्यानभासको भनेर प्रचार गरिएको सिनेमाले वक्सअफिसमा निराशाजनक व्यापार त गरिरहेको नै छ , त्योसँगै समीक्षकहरुबाट एकदमै खराब प्रतिक्रिया बटुलिरहेको छ। उनको मोफसल भ्रमणले सिनेमाको दर्शक कति बढाउँला त्यो समयले देखाउने नै छ। तर अहिले भाइरल भइरहेको भिडियो क्लिपले पूजा विश्लेषण गर्नमा अति नै कमजोर रहेको तथ्य प्रस्तुत गर्दछ।
आज संजालमा छाइरहेको भिडियोमा उनले अभिनेता दयाहाङ राई आफ्ना सिनेमाका कारण भन्दा पनि समुदायका(जनजाति समुदाय) कारण सफल भइरहेको बताएकी छन्।
‘दया दाईहरुको फिल्मचाँहि के हुँदोरहेछ भने, मलाई थाहा थिएन यो कुरा। जस्तो एउटा उनीहरुको युनिटी हुँदोरहेछ कस्तो मजाले। अब हाम्रामा यहाँ युनिटी पनि छैन केही पनि छैन हेर जस्तै मंगोलियनहरु हरेक चिजलाई कति सपोर्ट गर्ने रहेछ क्या अनि हामी आर्यनहरुकै कोही हुँदैन। अर्कोपाली त म पनि अर्कै(आर्यन) हुन पाउँ। आर्यन टिमहरु कसैको सपोर्ट भएन।म नि मंगोलोयन भएर जन्मु।
अरे पूजा जी यो तपाईंको कस्तो निम्छरो बुझाइ हो। तपाइंको यो अभिव्यक्तिले दयाहाङ जस्ता अभिनेताको पहिलो त अबमूल्यन गरेको छ। यसमा पूजाले बुझ्नुपर्ने कुरा के हो भने दयाजस्ता कलाकार जन्मिन समय लाग्छ। कसैले बोक्दैमा कोही सदा सफल हुन सक्दैन। यदि त्यस्तो हुँदो हो भने त रेयर राईको ‘खजुरे ब्रो’ सुपरफल्प हुन्थ्यो होला त? विल्सन विक्रम राईले पनि त्यस्तैगरि सफल हुनपर्ने होइन र?
कलाको पहिलो सर्त कलाको गुणस्तर हो। तपाईंले उच्च कला प्रस्तुत गर्नुहुन्छ भने तपाईंलाई हरेक जात समुदायले समर्थन गर्छन्, सरहना गर्छन् किनकी कला कुनै लिङ्ग,समुदाय र भूगोल बोकेर जन्मिदैन। यो सिमिनाबिहिन आकारमा जन्मिन्छ। र मन जित्ने काम कलाको क्षमता जति छ त्यही अनुसार हुन्छ। समुदायले नै हिट गराउने भए दयाका सबै सिनेमामा वक्सअफिसमा सफल छन् त ? तथ्याकंले त्यसलाई पुष्टि गर्दैन।
समुदायले आफ्नो सदस्यलाई दिने भनेको होस्टेमा हैंसे हो। दयाले पाएका त्यही हुन्। तर सबै यसैले गर्दा भएको भन्ने बुझाईचाँहि सर्वथा गलत हो। यदी त्यसो हो भने विगतमा तपाईंका सिनेमा कुन समुदायका कारणले चलेका हुन त। दर्शकको भीडमा सबै अनुहार देखिएका छन्। तिनै अनुहारको भीडमा तपाईंलाई घेरिएको देखिराखिएकै छ। अब आज आएर सिनेमा चल्दैन भने त्यसको दोषी तपाईं आफै हो। तपाईंको काम भगवानरुपी दर्शकले मनपराएनन् भनेर बुझ्ने हो। पछिल्ला सिनेमा कमजोर भएकै कारणले नचलेका हुन्। आफ्नो कमजोरीको कारण आफैभित्र खोजम र त्यसलाई समाधान गरौं। यसो गरेमा राम्रा सिनेमा साथ दिएका दर्शकले फेरि पनि साथ दिनेछन्।
उदाहरणका लागि तपाईंको पछिल्लो सिनेमा दर्शकबाट अस्विकृत भयो, व्यापारिक प्रदर्शन तपाईंको अनुमान विपरित भयो । सिनेमाको फस्ट लुक दारी र कपालको नक्कलीपनाले आलोचित भयो भने सार्वजनिक गीतहरु पनि चलेनन्। यसरी प्रचारसामाग्रीपिच्छे कमजोर हुँदै गएको सिनेमा नचल्नु स्वभाविक थियो। रिलिजपछि तपाईंकै अभिनयमाथि प्रश्न उठेको छ।
त्यसैले आफ्नो कमजोरी ढाक्न बाहाना नबनाऔं, कमजोरी सुधारदै अघि बढौं। उत्कृष्ट कामलाई सबै समुदायले सघाउनेछन्।
प्रतिक्रिया