Logo

आइफोन १६ सँग बजारमा प्रतिस्पर्धा गर्न चिनियाँ कम्पनी ह्वावेको नयाँ फोन

काठमाडौं— एप्पलले आइफोन १६ का विभिन्न मोडल सार्वजनिक एक दिन पछि चिनियाँ कम्पनी ह्वावेले नयाँ मोडलको मोबाइल सार्वजनिक गरेको छ । आइफोन १६ सँग बजारमा प्रतिस्पर्धामा उत्रने उदेश्यले आइफोन १६ लन्च भएको एक दिनपछि ह्वावेले नयाँ फोन सार्वजनिक गरेको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित एप्पलको मुख्य कार्यालयमा सोमबार एक कार्यक्रमका बिचमा आइफोन १६ सार्वजनिक गर्यो। आइफोन १६ सिरिजअन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक भए ।

उता चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले तीन पटक फोल्ड गर्न सकिने ‘ह्वावे ट्राइफोल्ड मेट एक्सटी’फोन सार्वजनिक गरेको छ । आईफोन १६ सिरिज सार्वजनिक गरेको एक दिनपछि कम्पनीले फोन सार्वजनिक गरेको हो ।

ह्वावेका फोन अमेरिकी बजारमा प्रतिबन्ध गरिएको छ । यो अबस्थामा चिनमा आइफोनको व्यापार कमजोर बनाउन ह्वावेले उक्त मोबाइल लन्च गरेको हो । गत वर्ष आईफोन १५ सार्वजनिक हुँदा ह्वावेले मेट ६० प्रो सार्वजनिक गरेको थियो । जसकारण चिनियाँ बजारमा आईफोन १५ को बिक्री घटेको विश्लेषण गरिएको छ ।

आइफोन १६ को मूल्य ७ सय ९९ डलर, आइफोन १६ प्लसको ८ सय ९९, आइफोन १६ प्रोको ९ सय ९९ र प्रो म्याक्सको मूल्य १ हजार १ सय ९९ डलरबाट सुरु हुन्छ । शुक्रबारबाट अग्रिम अर्डर दिन सकिने एप्पलले जनाएको छ ।

उता ह्वावेको मोबाइलको भने शनिबारबाट नै अग्रिम अर्डर सुरु भइसकेको छ । तत्कालको लागि चिनमा मात्र उपलब्ध हुने यो मोबाइलको ४० लाख बढीले प्रि–अर्डर गरिसकेका छन् । कम्पनीले पाँच वर्षसम्म खोज तथा अनुसन्धान गरेर यो फोन तयार गरेको हो । यस फोनको सुरुवाती मूल्य १९ हजार ९९९ युआन (करिब तीन लाख ७६ हजार रुपैयाँ) रहेको छ ।

यो मोबाइल फोल्ड नगर्दा ३।६ एमएम चौडाइको हुन्छ । यसमा १०.२ इन्चको स्क्रिन दिइएको छ । फोनको डिस्प्लेलाई एउटा, दुई ओटा वा तीन ओटासम्म स्क्रिन बनाएर हेर्न सकिन्छ । यसमा १.९ एमएम चौडाइ भएको ब्याट्री प्रयोग गरिएको छ । यस फोनले फोल्डेबल किबोर्ड पनि सपोर्ट गर्ने बताइएको छ ।

आइफोन १६ र ‘ह्वावे ट्राइफोल्ड मेट एक्सटी २० सेप्टेम्बरबाट बजारमा उपलब्ध हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्