काठमाडौं– लगातार छ दिन ओरालो लागेको नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। गत बुधबारदेखि सेयर बजार घटेर २१९ अंक गुमाएको छ। आज भने नेप्से ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा बन्द भएको छ।
आज बुधबारको तुलनामा १ अर्ब ३१ करोड रूपैयाँले कारोबार रकम बढेको छ । बुधबार छ अर्ब ८५ करोड रूपैयाँको कारोबार भएको शेयर आज आठ अर्ब १६ करोडको कारोबार भएको छ।
बिहीबार ३१८ वटा धितोपत्रको एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच भएको हो। २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इष्टर्न हाइड्रोपावर र रावा इनर्जीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने एशियन हाइड्रोपावरको मूल्य ९।९९ प्रतिशतले बढेको छ।
यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३९ रूपैयाँ ५० पैसामा झरेको छ।
सानिमा लार्ज क्याप फण्डको मूल्य ८.४९ प्रतिशतले घटेको छ। उक्त योजनाको प्रतिकित्ता मूल्य नौ रूपैयाँ ७० पैसा कायम भएको छ।
बिहीबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार २४० रूपैयाँमा ४७ करोड ६५ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ८३४ रूपैयाँमा २४ करोड ४८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ भने दोस्रोमा अन्य समूहको परिसूचक ३.८२ प्रतिशतले बढेको छ।
प्रतिक्रिया