घरेलु श्रमिक राखेकी बालिकामाथी बलात्कार आरोप लागेका इन्स्पेक्टर धरौटीमा रिहा
काठमाडौं– बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) विदुर शिवाकोटी धरौटीमा छुटेका छन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्सपेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो ।
उनी बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन् । यसअघि शिवाकोटीलाई १९ असारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उनीमाथी घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबरस्ती करणी गरेको आरोप लागेको थियो । उनी २३ जेठमा पक्राउ परेका थिए ।