Logo

फुलपातीमा दिपकराज, विराज भट्ट र जितु नेपालको फिल्म आउँदै, कस्ले मार्ला बाजी?

काठमाडौं– नेपालीहरु हिन्दुहरुको महान चाड दशैँ आउन अब एक महिनाभन्दा कम समय बाँकी छ । दशैँमा परिवारसँग रमाइलो गर्न नेपालीहरु रुचाउँछन् ।

यस समयमा नेपालीहरुको दिल फुकाएर समेत खर्च गर्छन् । त्यसैले फिल्म निर्मातालाई आफ्नो लगानी सुनिश्चित गर्न दशैँको समयमा फिल्म रिलिज गर्न चाहन्छन् । यसपालीको दशैँमा पनि घटस्थापनादेखि नै फिल्महरु धमाधम चल्दैछन् । विशेषगरि फुलपातीका दिन यस वर्ष तीनवटा फिल्म रिलिज हुँदैछन् ।

असोज २४ अर्थात् फुलपातीका दिन सिनेमा हलमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘ज्वाई साब’ प्रर्दशनमा आउँदैछन् । दिपा श्री निरौला र दिपकराज गिरीको फिल्म सिरिज ‘छक्का पञ्जा’ को पाँचौँ सिरिज ‘छक्का पञ्जा ५’ फुलपातीको दिन रिलिज हुन लागेको हो । दिपाश्रीको निर्देशनमा बनेको फिल्ममा दिपकसँगै वर्षा शिवाकोटी प्रमुख भुमिकामा छिन् ।

यो फिल्मको पहिलो गीत ‘बिहे भाको छैन’ एक महिना अघि नै सार्वजनिक भएको छ । यो गीतलाई दर्शकहरुबाट आलोचना र प्रसंसा दुबै मिलेको छ । फिल्मको टिजर वा टेलर भने हालसम्म सार्वजनिक भएको छैन ।

यस्तै सोहि दिन चर्चित हास्यकलाकार जितु नेपाल र मिस इन्टरनेशन नेपाल २०१७ निती शाहको चलचित्र ‘ज्वाईसाब’ पनि प्रदर्शन हुँदैछ । फिल्ममा बुद्धी तामाङ र हिमेश पन्त लगायतका कलाकारको समेत अभिनय रहेको छ । रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । यस फिल्मको टिजर सार्वजनिक भइसकेको छ ।

यो फिल्मको टिजर दुई हप्ताअघि सार्वजनिक भएको थियो । बुधबार मात्र फिल्मको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार जितु र नितीको विवाह भएको दृश्य देखाइएको छ । यो फिल्मको टिजरले आर्थिक सङ्कटले गुज्रिरहेको र विवाह गर्न समस्या भइरहेको युवा घरज्वाई बस्ने कथावस्तु फिल्ममा रहेको देखाएको छ ।

सोहि दिन एक्सन स्टार विराज भट्टले निर्माण गरेको फिल्म ‘१२ गाउँ’ समेत प्रदर्शनमा आउँदैछ । बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा बिराजले नै निर्देशन गरेको फिल्मबाट उनका छोरा समिर भट्टले डेब्यु गर्दैछन् । फिल्मको टिजर र एउटा गीत सार्वजनिक भएको छ ।

टिजरमा समाजमा भएको अत्याचार र त्यसको परिवर्तनका लागि जन्मिएको योद्धाको कथा देखाइएको छ । टिजरअनुसार फिल्म एक्सन प्रदान छ । १२ गाउँको गत शनिबार ‘सिनेमा हेर्न जाऔँ’ बोलको गित सार्वजनिक भएको थियो । गीतमा समिर र सोनु चन्द्रपल फिचर्ड रहेका छन् । गीत सार्वजनिक भएको दिनदेखि हालसम्म युट्युबमा चलचित्रको गितहरुमध्ये टे«न्डिङ नम्बर २ मा रहन सफल भएको छ ।

एकैदिनदेखि सार्वजनिक हुन लागेका यी तीनै फिल्मलाई हालसम्म दर्शकहरुले राम्रै प्रतिक्रिया दिइरहेका छन् । दिपक–दिपाले हालसम्म ६ एकान ६, वडा नं ६, छ माया छपक्कै देखि छक्कापञ्जाका ४ वटै सिरिज सफल भएका छन् । समग्रमा हेर्दा यो जोडीको फिल्मले सँधै सफलता हात पारेको छ । त्यसैले पनि छक्कापञ्जा ५ लाई दर्शकको राम्रो साथ मिल्ने अनुमान गरिएको छ ।

१२ गाउँमा पनि विराजका छोरा ‘समिर’ लाई हेर्न दर्शकहरु आतुर बनेका छन् । उनको आकर्षक नृत्य, एक्सन र मिलेको बडीले उनलाई धेरैले रुचाएका छन् । फिल्मको टिजर र गीतमा पनि दर्शकहरुको राम्रो प्रतिक्रिया मिलिरहेको छ । फिल्ममा विराज भट्टको पनि भुमिका रहेको छ । लामो समयदेखि नेपाली सिनेमा क्षेत्र छाडेर भोजपुरी फिल्ममा सक्रिय छन् उनी । उनले आफ्नै प्रोडक्सन हाउस विराज भट्ट प्रोडक्सनबाट साङ्लो फिल्मबाट नेपाली सिनेमा क्षेत्रमा कमब्याक गर्न खोजेका थिए । तर फिल्मले विराजको त्यो सपना सफल गर्न सकेन । व्यवसायिक रुपमा साङलोले राम्रो प्रदर्शन गर्न सकेन ।

यता छक्का पञ्जा का तीन वटा सिरिजमा अभिनय गरेका जितु नेपाल भने यसपटक छक्कापञ्जा ५ सँग ज्वाईसाब ल्याएर प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि जितु र सामा्रज्ञी राज्यलक्ष्मी शाह शीर्ष भुमिका रहेको ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आएको थियो । उक्त फिल्म व्यवसायिक रुपमा सफल हुन सकेको थिएन । यसपटक भने ज्वाईसाबमा निती शाह दर्शकसामु पहिलोपटक आउँदैछिन् ।

यी तीनै चलचित्र हेर्दा अहिले नै कुन बढी सफल भन्न सक्ने अवस्था छैन । तर ‘१२ गाउँ’ र ‘ज्वाई साब’ लाई छक्कापञ्जा जस्तो सफल सिरिजसँग प्रतिस्पर्धा गर्न भने चुनौती नै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्