भोटेकोशी नदीमा खसेको जिवमा सवार एक जनाको शव भेटियो, चालक अझै बेपत्ता
काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा खसेको जिपमा सवार एक जनाको शव भेटिएको छ ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै शनिवार दिउँसो एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट करिब १५ किलोमिटरभन्दा तल उक्त शव भेटिएको हो ।
उक्त शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । फेला परेको शव बाह्रबिसे नगरपालिका– ९ बस्ने ३६ वर्षीया सुन्तली भनिने सुनिता तामाङको रहेको खुलेको छ । शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बाह्रबिसे लगिएको प्रहरीले जनाएको छ ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकमा गाडीको दुईवटा टायर देखेपछि स्थानीयले प्रहरीलाई भोटेकोशीमा गाडी खसेको आशंकामा खबर गरेका थिए । बा २० च २१८५ नम्बरको बोलेरो गाडी शुक्रबार भोटेकोशी नदीमा खसेको खुलेको थियो ।
उक्त गाडी शुक्रबार साँझ पौने ७ बजे नदीबाट क्रेनको सहायताले निकालिएको थियो। बोलेरोमा दुई जना मात्रै रहेका छन् । गाडीका चालक भने अझै बेपत्ता छन्। उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरू गरेको छ ।
गाडीका चालक भोटेकोशी गाउँपालिका–५ का ३८ वर्षीय सानु शेर्पा हुन् ।