गाउँपालिकाका पूर्वअध्यक्ष नै जुवा खालबाट पक्राउ
विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । ग्रामनाथ गाउँपालिका वडा नं– ४ बाट उनीसहित ९ जना पक्राउ परेका हुन्छन् । माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमा विजयी भएका थिए ।
बाँस घारीभित्र बनाइएको टहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिवार राति ८ बजेतिर छापा मारेको थियो । प्रहरीले उनीहरूको साथबाट १८ लाखभन्दा बढी नगद बरामदसमेत गरेको छ ।
जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष , महोत्तरीको गौशाला नगरपालिका–१ का महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४ युवक राई, दुहबी नगरपालिका–६ का जय किशोर साह पक्राउ परेका हुन् ।
यस्तै झापाको दमक नगरपालिका–१० का ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का जनककुमार मास्के, सोही ठाउँका प्रताप राई, ग्रामथान–४ का अहिलाल माझी र लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा पक्राउ परेका हुन् ।
उनीहरुबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँ नगद बरामद भएको हो। यस्तै १६ थान कौडा, १२ बुक तास, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट थप १ लाख २२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।