शौचालयबाटै फरार भए जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी


झापा– जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी शौचालयबाट फरार भएका छन् । २४ वर्षीय जीवन साह फरार भएको प्रहरीले जनाएको छ ।

उनको स्वास्थ्यमा समस्या देखिएपनि झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा लगिएको थियो । उनी अस्पतालबाटै आइतबार बिहान उनी फरार भएका हुन्।

साहलाई आज बिहान ३ः४० बजे शौचालय जाने भनेकाले शौचालय लगिएको थियो । उनी शौचालयबाटै फरार भएको प्रहरीले जनाएको छ।

फरार साहको छातीमा समस्या भएपछि यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ । फरार साह भद्रपुर नगरपालिका–५ का स्थानीय बासिन्दा हुन् ।

यसअघि झापाकै इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए। फरार भएको चार दिनपछि उनलाई भदौ ८ गते बिर्तामोड बसपार्कबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।