मोरङ– सहकारी ठगी आरोपमा मोरङको विराटनगरबाट एक सहकारी सञ्चालक पक्राउ परेका छन् । सहकारीमा जम्मा भएको सर्वसाधारणको नौ करोड रुपैयाँ ठगी गरेको आरोपमा विराटनगरस्थित माछापुच्छ्रे सहकारीका ध्यक्ष अमलेश कर्ण पक्राउ परेका हुन्।
उनीविरुद्ध ५० जना भन्दा बढीले बचत रकम दिलाइदिन र ठगी गर्नेलाई कारबाही गर्न माग गर्दै निवेदन दिइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीगरी २६ जनाविरूद्ध प्रहरीमा जाहेरी परे पनि हालसम्म अध्यक्ष मात्रै पक्राउ परेका हुन् ।
झन्डै दुई वर्षदेखि फरार रहेका कर्ण गत बुधबार पक्राउ परेका थिए। पक्राउ परेलगत्तै बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उच्च रक्तचापका कारण उनलाई कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ।
सहकारीमा सर्वसाधारणले गरेको बचतको रकमले उनले निजी सम्पत्ती जोडेर श्रीमतीका नाममा राखेको र जमिन सुरक्षित राख्न सम्बन्ध बिच्छेद गरेको उनीमाथि आरोप पनि लाग्दै आएको छ । तर, प्रहरीले यसबारे केही बताएको छैन।
कर्ण २०७४ को संघीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा स्वन्तन्त्र उम्मेदवारी दिएका व्यक्ति हुन्।
प्रतिक्रिया