Logo

थलापति विजयको अन्तिम फिल्मको घोषणा, राजनीतिमा ध्यान केन्द्रित गर्दै

काठमाडौं– तमिल सुपरस्टार थलापति विजयको ‘द ग्रेटेस्ट अल द टाइम’ फिल्मले हलमा राम्रो प्रदर्शन गरिरहेको समयमा उनले खेल्ने अन्तिम फिल्मको घोषणा भएको छ । उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ ।

यो फिल्ममा विजय लोकतन्त्रका लागि लड्ने भुमिकामा देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश गरिएको छ ।

नयाँ फिल्मको घोषणा गर्दै निर्माताले लेखेका छन्, ‘हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि यो हाम्रो यो तमिल फिल्म चाड जस्तै हो । थलापतिको लागि माया । हामी तपाईंका फिल्म हेरेर हुर्केका हौं र तपाईं हाम्रो जीवनको हरेक पाइलाको हिस्सा हुनुभएको छ । ३० वर्ष भन्दा बढी समयदेखि हामीलाई मनोरन्जन प्रदान गर्नुभएकोमा धन्यवाद ।’

‘थलापति ६९’ अक्टोबर २०२५ मा रिलिज हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म रिलिजपछि विजयले फिल्मबाट ब्रेक लिनेछन् । त्यसपछि उनी पूर्ण रुपमा राजनीतिमा ध्यान केन्द्रित गर्नेछन् ।

विजयले यसैवर्ष फेब्रुअरी २ मा राजनीतिक पार्टी ‘तमिलगा वेत्री कझगम’ खोलेका थिए । यसको अर्थ तमिलनाडु विजय पार्टी हो । उनले सन् २०२६ को विधानसभा चुनाव लड्ने विश्वास गरिएको छ । उनको पार्टीले स्थानीय चुनावमा ११६ सिट जितेको थियो ।

विजयले सन् १९९२ मा फिल्म ‘नालैया थेरपु’बाट मुख्य अभिनेताको रूपमा डेब्यु गरेका हुन् । उनी तमिल सिनेमाका सबैभन्दा ठूला स्टारमध्ये एक बने । अहिलेसम्म तीन दशक लामो करिअरमा ६८ फिल्ममा काम गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्