Logo

ममता काफ्ले बेपत्ता प्रकरणमा नरेश भट्टलाई अदालतको सुविधाः पब्लिक डिफेन्सरदेखि छोरीको कस्टडी लड्ने अधिकारसम्म

काठमाडौं– अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्लेलाई बेपत्ता पारेको घटनाका मुख्य आरोपी ममताका श्रीमान नरेश भट्टमाथी अझैपनि हत्या अभियोग दर्ता भएको छैन । उनीमाथी ‘लाश लुकाएको’ मुद्दा दायर गरेर हिरासतमा राखिएको छ ।

ममताको शव नभेटिएका कारण उनीमाथी हत्याको अभियोग लगाउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले ममताको हत्या भएको भनेर पनि आधिकारिक रूपमा भनेको छैन । तर प्रहरीसँग हत्या भएका विभिन्न प्रमाणहरु रहेका छन् । प्रहरीले ममता जिवित नरहेको समेत बताउँदै आएको छ भने नरेशको घरभित्र र बाहिर कयौँ स्थानमा ममताको शव खोजीसमेत गरिरहेको छ ।

नरेश भट्टले ‘श्रीमती मृत्यु भएको कति समयमा अर्को बिहे गर्न मिल्छ?’ भनेर गरेको गुगल सर्च, मार्टमा गएर दुईवटा चक्कु किनेको र अर्को दिन सरसफाईको सामान किनेकोफुटेज, कोठाभरि रगतका टाटा, शौचालयल ढलमा रगतको भेल जस्ता प्रमाणहरूले ममता जीवित नरहेको नै इङिकत गरिरहेको छ । तर प्रहरीले नरेशमाथी लाश लुकाएको मुद्दामात्र दायर गरेको हो ।

अहिले दायर भएको लाश लुकाएको सम्बन्धी मुद्दा अमेरिकाको अपराध सम्वन्धी कानूनमा फेलोनी ६ अन्तरगत पर्छ । यसमा धेरै ठूलो सजाय हुँदैन । हत्याको मुद्दा (क्यापिटल मर्डर) फेलोनी १ अन्तरगत पर्छ र त्यसमा आजीवन कैद सजायसम्म हुनसक्छ ।

नरेशमाथी अदालतले विभिन्न सुविधा दिइरहेको छ । नरेश आर्थिक रुपमा आफ्नो लागि डिफेन्स लयर्स राख्न सक्षम छन् । तर उनले आर्थिक आम्दानी शुन्य रहेको दाबी गरेपछि अदालतले उनलाई आर्थिक रुपमा कमजोर नागरिकसरह ‘पब्लिक डिफेन्डर’ नियुक्त गरिदिएको छ ।

यस्तै अदालतमा नरेशले आफु राम्ररी अंग्रेजीमा बोल्न नसक्ने भनेर दोभासे राख्ने सुविधा पाएका छन् । नरेशले यसअघि खरर बोलेल अन्तर्वार्ताहरु अंग्रेजीमा दिएका थिए । उनले भाषामा समस्या भएको भन्दै अदालतमा न्यायधिसलाई दोभाषेको माध्यमबाट मात्र बयान दिने गरेका छन् । तर आफ्ना वकिलहरुसँग भने उनी अंग्रेजीमा नै कुरा गर्छन् ।

जुलाई ३१ मा ममता बेपत्ता भएदेखि नै श्रीमान नरेश शंकाको घेरामा थिए । प्रहरीले २२ अगष्टमा नरेशलाई पक्राउ गरेर लगेको थियो । तर, उनीमाथि हत्या अभियोग दर्ता भएको छैन । कमजोर मुद्दा लगाएर नरेशलाई हिरासतमा राखिएको हो ।

नरेशका वकिलले तीन पटक मोसन हियरिङ बोलाइसकेका छन् । अदालतले सुनवाइको मिति तोकेको भन्दा अगाडि नै एउटा पक्षले कुनै विषयमा अदालतमा छलफल गराउन चाहेमा मोसन हियरिङको माग गर्न सक्छ । त्यसअनुसार तीनपटक भएका मोसन हियरिङमा तीनैपटक न्यायाधीशले नरेशका वकिलको माग पूरा गरिदिएका छन् ।

नरेशका वकिलको मागअनुसार पछिल्लो मोसन हियरिङ गत शुक्रबार भएको थियो । हियरिङमा नरेशका वकिलले ममता बेपत्ता भएपछि प्रहरीले संकलन गरेका प्रमाणहरू आफूले पनि पाउनुपर्ने माग गरेका थिए । त्यसअनुसार ममता आफ्नो कार्यालयबाट २७ अगष्टमा निस्किएको सीसीटीभी फुटेज नरेशका वकिललाई उपलब्ध गराउन न्यायाधीसले आदेश दिएका छन् ।

सो फुटेजलाई आधार मानेर नरेशका वकिलहरूले ममता हराएकी मात्र हुन्, उनको मृत्यु भएको छैन भनेर सावित गर्न चाहिरहेका छन् । २७ जुलाईमा ममता आफू काम गर्ने युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक पुगेकी थिइन् । कार्यबाट निस्किएर उनले पहिल्यै बुक गरेको उबर क्यान्सिल गरी एउटा कालो कारमा चढेको अनुसन्धानबाट देखिएको छ । कार चढ्नुअघि उनले कार्यालयबाहिर एक सहकर्मीसँग कुराकानी समेत गरेकी थिइन् । नरेशका वकिलले ती सहकर्मी र कारका ड्राइभरसँग समेत आफूहरूले कुरा गर्न पाउनुपर्ने थप माग राखेका छन् ।

सरकारी वकिलले आफुहरुसँग रहेका कुनै पनि प्रमाणहरू नरेशका वकिललाई उपलब्ध गराउन नमिल्ने तर्क गरेका थिए । तर अदालतले नरेशको वकिलले चाहेअनुसार फुटेज उपलब्ध गराउन अनुमति दिएसँगै सो प्रमाण पाएका छन् ।

तर २७ जुलाईको उक्त फुटेज खासै अर्थ नराख्ने सरकारी वकिलको भनाइ छ । किनभने नरेश आफैंले ३१ तारिखको रातिबाट मात्रै ममता बेपत्ता भएको बताएका छन् । त्यस राति आफूहरूले सँगै खाना खाएको र भोलिपल्ट बिहान काममा हिँडेपछि मात्रै ममता बेपत्ता भएको उनले बताएका थिए ।

ममता बेपत्ता भएपछि प्रहरीले अगष्ट २ मा पहिलोपटक घरमा गएर नरेशसँग गरेको सोधपुछको भिडिओ पनि नरेशका वकिलले पाएका छन् । नरेशले ममता बेपत्ताबारे उजुरी गर्न ढिलाइ गरेको आरोप छ । सो भिडियोबाट प्रहरीले नै नरेशलाई श्रीमती आफै खोज्न सुझाव दिएको कारण उजुरीमा ढिलो भएको तर्क गर्न खोजिएको छ।

नरेशले ममता बेपत्ता भएपछि विक्री गरेको टेस्ला कार प्रहरीले जफत गरेर अनुसन्धान गरिरहेको छ । नरेशका वकिलले उक्त कारमा भेटिएका प्रमाणहरू पनि मागेका थिए । तर, त्यो भने उनीहरुलाई दिन अदालतले अस्वीकार गरेको छ ।

प्रहरीले नरेशको कोठाभित्र बगेको रगतको फरेन्सीक टेस्ट गर्ने बताएको थियो । उक्त टेस्टबाट त्यो रगत ममताको हो वा होइन भन्ने पुष्टि हुने प्रहरीको भनाइ छ । तर, एक महिना बितिसक्दा पनि उक्त परीक्षणको नतिजाबारे प्रहरीले बताएको छैन।

उता ममताकी छोरीको जिम्मा हजुरआमालाई लगाइएको छ । ममताकी हजुरआमा र दाइ केही दिन अगाडि अमेरिका पुगेका थिए । चाइल्ड प्रोटेक्टिभ सर्भिसको स्वीकृतिबाट उनीहरुले शनिबार अस्थायी रुपमा बालिकाको हेरचाहको जिम्मा पाएका हुन् । बालिकाको स्थायी रुपमा कस्टडी कस्ले पाउँछ भन्ने कुरा अदालतले निर्णय गर्नेछ । छोरीको कस्टडी ब्याटलका लागि पनि नरेशले अधिकार पाएका छन् । यदी नरेशले आजीवन जेल सजाय पाएभने उनले जेलभित्रै बसेर पनि आफ्नो तर्फको परिवारलाई छोरीको कस्टडी दिन मुद्दा लड्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्