Logo

यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न : जात्राका औपचारिक कार्यक्रम सुरु

आज ‘उपाकु वनेगु’ दिवंगत भएका व्यक्तिको सम्झनामा माटोको काँचो पालामा बत्ती बालिने

काठमाडौँ । आज विहान ८ बजेर २६ मिनेटको साइतमा ‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न भएको छ । हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिं उठाइएको हो । उठाइएको यसिंमा ८ वटा काठका टुक्रा राख्ने चलन छ । यस कार्यमा न्हय्स नाय, चस्वाद्वँ टोलका मानन्धर समुदाय अनिवार्य उपस्थित हुने चलन छ । अष्टमातृकाको प्रतीकका रुपमा काठका टुक्रा राख्ने गरिएको हो । यसलाई ‘लाकासिँ’ भनिन्छ ।

यःसिं उठाउँदा गुर्जुको पल्टनले तोप पड्काएको थियो । यस अवसरमा तलेजु भवानीको प्रतीक स्वरुप सेतो घोडा ल्याउने चलन छ । यस्तै दिप्याखं (देवी नाच) प्रस्तुत गरिएको थियो । यो नाच इन्द्रजात्रामा निकालिने पहिलो नाच हो ।

यःसिं उठाइसकेपछि यसको माथि इन्द्र अङ्कित चिन्हसहितको ध्वजा फहराइयो । यसलाई ‘हलिंपता’ भनिन्छ । ‘हलिंपता’ फहराइसकेपछि मानन्धरहरुले सबैभन्दा पहिले पूजा गर्ने चलन छ । यःसिंको माथि गजुर जस्तै देखिने भोगटे राखिएको हुन्छ । फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ । यसको श्रद्धालुहरुले पूजा आराधना गर्ने गर्दछन् ।

यस वर्ष भाद्र २० गते ञलाथ्व द्वितियाका दिन मानन्धर समुदायका गुठियारहरु यःसिं लिन बन प्रस्थान गरेका थिए । त्यसै दिन साँझ ०८ बजेर २७ मिनेटको साइतमा वृक्षकर्तन भएको थियो । २१ गते भोटाहिटी ल्याइयो । भदौ २६ गते बुधबार (ञलाथ्व कायाअष्टमी) का दिन विहान १० बजेर ३२ मिनेटको साइतमा यःसिं नगर प्रवेश गराइयो । यसैदिनदेखि किलाघःमा दिःप्याखं (देवी नाच) सुरु भयो । एकादशीका दिन चसाद्वं टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँधेका थिए । यसलाई ‘वलः घायेगु’ भनिन्छ । ‘वलः घायेगु’ यःसिंमा डोरी बाँध्ने एउटा त्यस्तो जटिल विधि हो, जसलाई तानेर यःसिं उठाइसके पछि यःसिंको सिरानीमा बाँधिएको गाँठो तलै बसेर फुकाल्न सकिन्छ । यःसिं उठाइसके पछि त्यो देवता सरह हुने भएकोले गाँठो फुकाल्न माथि चढ्न मिल्दैन । त्यसैले तलैबाट गाँठो फुकाल्नु पर्ने हुन्छ ।

आज नेवार समुदायका मानिसहरुले दिवंगतहरुको सम्झनामा काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाउने गर्छन् । यसै दिन गणेश र भैरवलाई कुमारी घरमा ल्याउने र त्यसपछि तलेजु भवानी मन्दिरको मुल द्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो दिने चलन छ । यस अघि एकादशीका दिन सरकारतर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिने चलन छ ।

जात्रामा यःसिं ठड्याउने परम्परा कसले चलाए भन्ने एकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा ठड्याउन थालिएको विश्वाश गरिन्छ । त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिर अघि यसरी नै यःसिं ठड्याइन्थ्यो भन्ने भनाइ छ । यःसिंलाई उल्लास, विजय र उत्सवका रुपमा हेर्ने गरिन्छ ।

असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा यःसिं ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।

प्रतिक्रिया दिनुहोस्