Logo

सहकारी रकम अपचलनमा रवि संलग्नता रहेको छानबिन विशेष समितिको ठहर

काठमाडौं– नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पारेको छ । रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिस सहितको प्रतिवेदन तयार गरेको हो ।

उक्त प्रतिवेदन समितिका सदस्यहरुले हस्ताक्षर गरेर आज संसदमा बुझाउने तयारी गरेको छ । विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएका रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको समितिका एक सदस्यले बताएका छन् ।

गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको छ ।

गोरखा मिडियामा सहकारीमार्फत पैसा ल्याउने प्रक्रियाको जिम्मा जीवी राईले गरेको पाइएको समितिले जनाएको छ । रवि कार्यरत रहेको १४ महिनाको समयमा गोरखा मिडियामा सहकारीको ६५ करोड रकम खर्च भएको छ । जसको हस्ताक्षर रविले गरेका छन् । जीबीले सो समयमा एउटा ४० लाखको चेकमा हस्ताक्षर गरेका छन् ।

रवि, जीवी र छवि समेतले गैरकानुनी ढंगले सेयर लिएको, पैसा जम्मा गरेको र भौचर समेत बुझाएको देखिएको समितिले भनेको छ । सात सदस्यीय सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिमा सभापति सूर्य थापासहित सरिता भुसाल, दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल र ध्रुवबहादुर प्रधान सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्