Logo

चल्ला त धिरज मगरको फिल्म ‘खुस्मा’ ?

काठमाडौं– कोरियन जस्तै देखिने चक्लेटी लुक्स । यहि कारण धिरज मगर डेब्यु फिल्मबाट दर्शकको नजरमा परे । २०७५ असोजमा रेनिशा वान्तावा राईले निर्देशन गरेको चलचित्र ‘इन्टुमिन्टु लन्डनमा’ बाट नेपाली सिनेमाबाट डेब्यु गरेका उनलाई नेपालको आगामी स्टारको रुपमा हेरिएको थियो ।

फिल्मले नेपालमा औषत व्यापार गर्दै लगानी सुनिश्चित गर्न सफल भएको थियो । इन्टुमिन्टु लन्डनमा साम्राज्ञी राज्यलक्ष्मी शाहको अपोजिटमा देखिएका धिरजलाई दर्शकले अन्य प्रोजेक्टमा देख्न चाहेका थिए । तर पहिलो फिल्मपछि लामो समय दर्शकहरुको नजरबाट धिरज ओझेलमा परे । किनकी उनी इन्टुमिन्टु लन्डनमा प्रदर्शन आएको चार वर्षसम्म अर्को कुनै फिल्ममा देखा परेनन् ।

पहिलो फिल्मको ४ वर्षपछि २०७९ मा उनी अभिनेत्री अदिती बुढाथोकीको अपोजिटमा देखिए । दोस्रो फिल्म ‘बाबरी’ मा काजीको भुमिकामा देखिँदै उनले नेपाली चलचित्र उद्योगमा कमब्याक गरे । तर फिल्मले राम्रो प्रदर्शन गर्न सकेन ।

त्यसपछि भने उनी नेपाली फिल्ममा निरन्तर देखिन थालेका छन् । यसैक्रममा गत वर्ष धिरजले अभिनय गरेका दुई वटा फिल्म प्रदर्शनमा आए । रेनिशा वान्तावा राईकै निर्देशनमा ‘ज्याकी आई एम २१’ मा उनी देखिएका थिए । डान्स ड्रामामा आधारित रहेको उक्त फिल्ममा बाबु र आफ्नो सपना पूरा गर्न उनको पात्रले संघर्ष गरेको थियो । उनको फिल्ममा उनको अपोजिट जसिता गुरुङ देखिएकी थिइन् । यो फिल्मले पनि अपेक्षा अनुरुप व्यापार गर्न सकेन । गत वर्ष नै झरना थापाले निर्देशन गरेको ‘एक भागवत् र एक गीता’ प्रदर्शनमा आएको थियो । फिल्ममा अभिनेत्री सुहाना थापाको प्रेमीको भुमिकामा धिरज देखिएका थिए । तर एक भागवत् र एक गीता झरना थापाको अन्य फिल्मले जस्तो राम्रो व्यापार गर्न सकेन ।

हालसम्म धिरजले जति फिल्ममा काम गरेका छन् । फरक भुगोल र परिवेशको पात्रको भुमिका उनले निभाएपनि सबै फिल्ममा उनी ‘लभर ब्वाई’ को चरित्रमा देखिएका छन् । उता उनका अहिलेसम्म प्रदर्शनमा आएको फिल्ममध्ये इन्टुमिन्टु लन्डनमा बाहेकका फिल्मका व्यापार निराशाजन छ ।

हाल उनी मुख्य भुमिकामा रहेको ‘खुस्मा’ एक प्रेम कहानीको प्रदर्शनको तयारीमा छन््् । यो फिल्म धिरजको पाँचौ फिल्म हो । यस फिल्म व्यवसायिक रुपमा सफल हुन्छ कि हुँदैन भन्ने कुराले पनि धिरजको आगामी फिल्मी करिअर तय गर्ने छ ।

खुस्माको ट्रेलर अनुसार उक्त फिल्ममा पनि धिरज लभर ब्वाई कै भुमिकामा छन् । असोज ३ बाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने फिल्ममा मगर समुदायको पृष्ठभुमिमा प्रेमकथा पेश गरिएको बताइएको छ । फिल्ममा २५ वर्ष अघिको परिवेशमा एक प्रेमिल जोडिले भोगेको सङ्घर्ष देखाइएको छ ।

फिल्ममा रुकुमको मैकोटमा जन्मे हुर्केको गाउँले युवकको भुमिकामा छन् धिरज । फिल्लमा उपासना सिंह ठकुरी धिरजको अपोजिटमा अर्थात् ‘खुस्मा’ को भुमिकामा छिन् । ‘क्याप्टेन’ फिल्मबाट उनले डेब्यु गरेकी हुन् । उनले कबड्डी कबड्डी कबड्डी, दुई नम्बरी, डिसेम्बर फल्स फिल्ममा काम गरेकी छिन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन , सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई वीरबहादुर लामा, चन्द्र भट्टचन, बेतान मगर र मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले निर्माण गरेका हुन् । फिल्मलाई दीपक बज्राचार्यको छायांकन गरेका छन् । एसडी योगी र छान्जु पार्कको संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना छ ।

‘खुस्मा’को रुकुम मैकोट बोलको गीत दुई हप्ता युट्युबमा सार्वजनिक भएको थियो । गीतमा धिरज र उपासना फिचर्ड छन् । यो गीतले नेपाली चलचित्रका गीतहरुमध्ये ट्रेन्डिङ नम्बर १ मा लामोसमयदेखि कब्जा जमाएको छ । फिल्मको ‘खुसीका फुल बटुलेर’ बोलको गीतमा धिरज र उपासनाको रोमान्स देखाइएको छ । यो गीतलाई पनि दर्शकहरुले राम्रो प्रतिक्रिया र माया दिइरहेका छन । खुस्माको युट्युबमा ट्रेलर हेरेर दर्शकहरुले कमेन्ट सेक्सनमा समेत निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

ट्रेलर हेरेर धिरज र उपासनाको राम्रो अभिनय रहेको अड्कल दर्शकहरुले काटेका छन् । फिल्मको ट्रेलरले पनि मगर समुदायका युवा युवतिको प्रेम, उनीहरुले भोग्नुपरेको वियोग, त्यागलाई देखाइएको छ । ट्रेलर हेर्दा भावुक बनाएको दर्शकहरुले प्रतिक्रिया जनाएका छन्। असोज ३ बाट प्रदर्शनमा आउने फिल्मले दर्शकहरुलाई तान्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्