भोटेकोशी नदीमा बेपत्ता बोलेरो चालकको शव फेला
काठमाडौं– गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानीस्थित भोटेकोशी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो ।
तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
भदौ २८ मा बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकमा गाडीको दुईवटा टायर देखेपछि स्थानीयले प्रहरीलाई भोटेकोशीमा गाडी खसेको आशंकामा खबर गरेका थिए । बा २० च २१८५ नम्बरको बोलेरो गाडी शुक्रबार भोटेकोशी नदीमा खसेको खुलेको थियो ।
उक्त गाडी सोहि दिन साँझ पौने ७ बजे नदीबाट क्रेनको सहायताले निकालिएको थियो। बोलेरोमा दुई जना रहेका छन् । उक्त दुर्घटनामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ बस्ने ३६ वर्षीया सुन्तली भनिने सुनिता तामाङको समेत मृत्यु भएको थियो । उनको शव २९ भदौमा फेला परेको थियो ।