Logo

प्रहरीलाई ठक्कर दिएर भागेको स्कार्पियोमा १४६ केजी गाँजा फेला

मोरङ–  प्रहरीलाई ठक्कर दिएर भागेको स्कार्पियो १४६ किलो गाँजासहित समातिएको छ । मोरङको विराटनगरमा नेपाल भारतको सीमा क्षेत्रनजिकैबाट दुई जनासहित उक्त जिप प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार राति विराटनगर– १७ दक्षिणतर्फ जाँदै गरेको को.२च ७५९ नम्बरको स्कार्पिओले गाँजा बोकेको सूचना लागुऔषध नियन्त्रण ब्युरोले पाएको थियो । सोपछि ब्युरोका हवल्दार कैलाश खत्रीले स्कार्पियोको पिछा गरेका थिए ।

प्रहरीले पिछा गरेको थाहा पाएपछि स्कार्पियोले हवल्दार खत्रीलाई नै ठक्कर दिएर भागेको थियो । घटनापछि तत्कालै इलाका प्रहरी रानीका इन्स्पेक्टर प्रकाश थापाको टोलीले स्कार्पियोको पिछा गर्दै रेर सोमबार साँझ नै नियन्त्रणमा लिएको थियो । स्कार्पियोबाट गाँजा र दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । १४६ केजी गाँजासहित स्कार्पियोका चालक सुनसरी धरानका ४५ वर्षीय सुक्षिम राई र धरान– ११ का ४६ वर्षीय देवराज राईलाई पक्राउ परेका छन् ।

घाइते प्रहरी खत्रीको अवस्था सामान्य रहेको छ । प्रकाउ परेका व्यक्तिहरुमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्