Logo

कैलालीमा कारागारभित्र कैदीको मृत्यु, कारागारको लापरवाहीका कारण मृत्यु भएको आफन्तको आरोप

धनगढी– कैलालीको जिल्ला कारागारभित्रै एक कैदीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीकै घोडाघोडी नगरपालिका– ४ का २२ वर्षका दीपक विकको कारागारमा मृत्यु भएको हो ।

विक सोमबार दिउँसो शौचालयमा लडेको अवस्थामा भेटिएका थिए । उनलाई सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उता दीपकको मृत्यु कारागारको लापरवाहीका कारण भएको आफन्तले आरोप लगाएका छन् । दीपकले दिउँसो १२ बजेसम्म परिवारसँग कुराकानी गर्दा सबै ठिकठाक रहेको र केहि घण्टामा नै मृत्यु भएको भन्दै कारागार सुरक्षामा प्रश्न उठाएका छन् ।

प्रहरीले खोकीको औषधी खाएपछि बान्ता भएको भन्दै दीपकका आफन्तलाई खबर गरेका थिए । प्रहरीले भने उनको मृत्यु किन भएको भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सक्ने बताएको छ ।

केही समय पहिले दीपकले बहिनी नातापर्ने नाबालिगलाई विवाह गरेर भारतको बेंग्लोर लगेका थिए। दीपककै आफन्तले उनीहरू दुवैलाई घर बोलाएपछि २०८० माघ ७ दीपकविरुद्ध किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दिएका थिए। दाइ–बहिनी नाता पर्नेबीच हाड नाता करणीमा मुद्दा दायर भएपछि उनी कारागार चलान भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्