हिन्दु र बौद्धबाट धर्मान्तरण गरेर क्रिश्चियन बन्नेको संख्या बढ्दै


काठमाडौं– पछिल्लो नेपाली जनगणनाअनुसार नेपालमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरुको जनसंख्या बढेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०६८ को जनगणनाको तुलनामा २०७८ को जनगणनामा इस्लाम धर्मालम्बीको संख्या शून्य दशमलव ३० र क्रिश्चियनको जनसंख्या शून्य दशमलव ३४ प्रतिशतले बढेको हो ।

यो समयमा अन्य धर्मावलम्बीको जनसंख्या भने घटेको छ । हिन्दू धर्मावलम्बीको जनसंख्या शून्य दशमलव १५ प्रतिशतले घटेको छ । २०६८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्मावलम्बीको जनसंख्या ८१ दशमलव ३४ प्रतिशत रहेको थियो । पछिल्लो जनगणनामा ८१ दशमलव १९ प्रतिशत छ ।

यस्तै बौद्ध धर्मावलम्बीको संख्या करिब एक प्रतिशतले घटेको छ । २०६८ मा ९ दशमलव ०४ प्रतिशत रहेको बौद्ध धर्मावलम्बीको जनसंख्या घटेर ८ दशमलव २१ प्रतिशत भएको छ ।

बौद्ध र हिन्दु धर्म मान्नेहरूले धर्मान्तरण गरेर क्रिश्चियन धर्म अपनाउँदा जनसंख्या घटेको हो । फलस्वरुप २०६८ को जनगणनामा १ दशमलव ४२ प्रतिशत रहेको क्रिश्चियनको जनसंख्या पछिल्लो जनगणनामा १ दशमलव ७६ प्रतिशत पुगेको छ । यस्तै मुस्लिमको जनसंख्या ४ दशमलव ३९ प्रतिशतबाट बढेर ५ दशमलव ०९ प्रतिशत पुगेको छ ।