तीन वर्षीय बालिका जङ्गली जनावरको शिकार, खुट्टा र टाउको मात्र फेला


बाँके- बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीबाट आइतबार राती एकाएक तीन वर्षीया बालिका बेपत्ता भइन् । सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुन राति करिब ८ बजे बेपत्ता भएकी हुन् ।

घरको आँगनमा खेलिरहेकी बालिका बेपत्ता भएपछि उनलाई बाघले लगेको हुनसक्ने आशंका गरिएको थियो । आइतबार रातिदेखि नै प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयको टोली, पालिकाका जनप्रतिनिधि, बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोली साथै स्थानीयवासी मिलेर बालिकाको खोजी गर्न थालेका थिए ।

बालिकाको शव मंगलबार बिहान ११ बजेतिर फेला परेको छ । घर नजिकै रहेको जङ्गलबाट बालिकाको शव फेला परेको हो ।

मृतक बालिकाको शव घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फ फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा बालिकाको शव भेटिएको थियो । उनको टाउको र एउटा खुट्टामात्र फेला परेको प्रहरीले जानकारी दिएको छ । बालिकालाई बाघले खायो कि चितुवाले खायो भन्ने कुरा हालसम्म पत्ता लागेको छैन ।