Logo

सम्बन्ध तोडिदिने व्यवसायी जसले लिन्छन् ब्रेकअप गराइदिएबापत ७५ हजार रुपैयाँ शुल्क

एजेन्सी– सम्बन्धहरु जोड्नको लागि विभिन्न डेटिङ एपहरु पाइन्छ । परम्परागत रुपमा विवाह गर्नका लागि लमिले दुई परिवारका विवाहयोग्य युवा युवतीको सम्बन्ध जोड्ने काम गर्थे । यसरी युवा युवतीलाई आफुले खोजेको जस्तो प्रेमी प्रेमिका वा जीवनसाथी भेटाउने व्यवसाय गर्ने माध्यमहरु देख्न र सुन्न पाइन्छ ।

केही समयअघि एक बलिउड फिल्म आयो । उक्त फिल्मका हिरोले ब्रेकअप गर्न वा कुनैपनि सम्बन्धबाट निस्किन चाहने व्यक्तिलाई ब्रेकअप सर्भिस दिएर सम्बन्ध तोड्न सहयोग गर्ने काम गर्छन् । उनले यस व्यवसायबाट राम्रै आम्दानी गरेको फिल्ममा देखाइएको थियो । तर ब्रेकअप गराउन र डिभोर्स गराउनका लागि वास्तविकतामा नै व्यवसाय गर्ने व्यक्तिहरु पनि छन् ।

पतिपत्नी वा प्रेमी प्रेमिकासँगको सम्बन्ध अन्त्य गर्न दुई तर्फबाट सहमतिमा हुनेगर्छ । तर एउटा व्यक्तिले आफ्नो सम्बन्ध तोड्न चाहेमा त्यस्ता व्यक्तिलाई सहयोग गरेर सम्बन्ध तोड्न ब्रेकअप सर्भिस दिने काम केही व्यक्तिले पेशाकै रुपमा अंगालेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमअनुसार स्पेनका अर्नेस्टो नाम गरेका व्यक्तिले कम्पनी नै खोलेर ब्रेकअप सेवा प्रदान गर्दै आएका छन् । उनले आफ्नो विवाह तोड्न वा ब्रेकअप गर्न खोजिरहेका जोडीलाई आफ्नो सेवा प्रदान गर्छन् । उनी सम्बन्ध विच्छेद गराउने वा ब्रेकअप गराउने काममा निपूर्ण छन् ।

उनी आफ्नो यहि अनौठो कामका कारण संसारभरि चर्चित छन् । उनको यो सेवा लिन चाहने ग्राहक यति धेरै हुन्छन् कि बिहेको याममा त उनले ओभरटाइम काम नै गर्नुपर्छ ।

अत्यन्तै व्यवसायिक कौशलका साथ उनी आफ्नो काम पूरा गर्छन् । उनी आफ्नो ग्राहकले सम्बन्ध तोड्न खोजेको जोडिसँग भेटेर आफु नै ग्राहकको साँचो प्रेमी भएको दाबी गर्दछन् । उनी आवश्यक परेमा बिहे समारोहमै पुगेर ग्राहकसँग पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको दाबी गर्दे बिहे नै तोडिदिन्छन् । उनले कुशलतापूर्वक बोलेको झुट मानिसहरु पक्रिन नै सक्दैनन् । जसकारण उनी आफ्नो ग्राहकको वैवाहिक वा प्रेम सम्बन्ध विवादबिना नै टुङ्ग्याउन सफल हुन्छन् ।

ढुक्कसँग विवाह तोड्ने वा ब्रेकअप गराउने सर्भिस दिने भएकाले ग्राहकसँग उनी मँहगै शुल्क दिन्छन् । चर्को पैसा तिरेर पनि ग्राहकहरु उनको सेवा लिन चाहन्छन् किनकी उनको सेवा भरपर्दो हुन्छ । उनले आफुले दिने सेवाको आधारभूत शुल्क ५ सय ५० डलर अर्थात् करीब ७५ हजार रुपैयाँ रहेको एक भिडियोमार्फत बताएका छन् ।

उनको सेवा लिन ग्राहकले केवल स्थान, समय र मितिबारे जानकारी दिनुपर्छ । त्यसपछि त्यो सम्बन्ध कसरि तोड्ने भन्ने सम्पूर्ण जिम्मेवारी अर्नेस्टोले नै लिन्छन् ।

प्रतिक्रिया दिनुहोस्