Logo

श्रीमतीलाई धेरै फोन गरेर दिक्क बनाएको आरोपमा जापानमा एक श्रीमान पक्राउ

काठमाडौं– आफ्नो पार्टनरको बेवास्ता गर्दा सम्बन्धमा दरार आउन सक्छ । पार्टनरको क्रियाकलाप, आवश्यकतामा ध्यान राख्नाले सम्बन्धलाई मजबुत बनाउँछ । तर पार्टनरको अति धेरै नै ध्यान राख्ने बानीले पनि सम्बन्धको अन्त्य गर्न सक्छ ।

कुनैकुनै मानिसहरुमा पार्टनर टाढा भएको बेलामा जतिबेला पनि फोन गर्ने, कहाँ जान्छन् के गर्छन् भनेर पछ्याउने, पार्टनरलाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने बानी हुन्छ । यस्तै बानीका कारण जापानमा एक श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमानले आफुलाई दिनमा सयौँपटक फोन गरेर हैरान दिएको भन्दै महिलाले प्रहरीलाई उजुरी दिएकी हुन् ।

एक रिपोर्टका अनुसार जापानका ३८ वर्षीय पुरुषले आफ्नी ३१ वर्षीय श्रीमतीलाई पटकपटक फोन गर्थे । आफ्नो नम्बरबाट श्रीमानले श्रीमतीलाई दिनमा बारम्बार फोन गर्नुलाई सामान्य मान्न सकिन्छ । तर उनी अपरिचित नम्बरहरुबाट पनि श्रीमतीलाई फोन गर्थे । जब श्रीमतीले फोन उठाउँथिन् उनी बोल्दैनथे ।

यो घटना जापानको अमागासाकी शहरको हो । यसरी श्रीमतीले हप्तौँसम्म अपरिचित नम्बरबाट सयौँ कलहरु रिसिभ गरिन् । जसकारण उनी चिन्तित भएकी थिइन् । तर उनले एउटा अनौठो कुरा याद गरिन् । उनलाई अपरिचित नम्बरहरुबाट कल घरमा भएको समयमा आउँदैनथ्यो । श्रीमानको फोनमा भिडियो गेम खेल्दा पनि उनलाई कहिल्यै फोन आएन। त्यसपछि उनले अपरिचित नम्बरहरुबाट फोनगर्ने व्यक्ति श्रीमान नै भएको शंका गर्न थालिन् ।

त्यसपछि ती महिलाले प्रहरीकोमा रिपोर्ट गर्ने निर्णय लिइन् । उनले श्रीमानमाथि आफ्नो शंका रहेको कुरा पनि प्रहरीलाई बताइन् । त्यसपछि प्रहरीले फोन गर्ने व्यक्तिको खोजी गर्न अनुसन्धान सुरु गर्यो । अनुसन्धान पूरा भएपछि ती कलहरूको पछाडि रहेको वास्तविक व्यक्ति उनको श्रीमान नै रहेको प्रहरीले पुष्टि गर्यो । र उनी गत सेप्टेम्बर ४ मा जापानको एन्टी स्टकिङ कानून उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका छन् ।

अपरिचित नम्बरबाट आफ्नै श्रीमतीलाई किन फोन गरे भनेर सोध्दा उनले श्रीमतीलाई धेरै माया गर्ने भएकाले पटकपटक फोन गरेको बताए । उनको यस्तो जवाफले सबैलाई अचम्मित बनाएको थियो । अमागासाकीमा श्रीमानले आफ्नी श्रीमतीलाई स्टक गरेको भेटिएको यो पहिलो घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्