Logo

ओमानसँग नेपाल झिनो अन्तरले पराजित

काठमाडौं– नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ ।

क्यानडाको किङ्ग सिटीमा बिहीबार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो ।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए । ओमानका अर्का ओपनर कश्यप प्रजापतीले ५२ बलमा ३६ रन जोडे ।

कप्तान अकिब इल्यमसले ३३ बलमा २९ रन बनाए । प्रतिक अथाभाले र सोयब खानले समान २६ तथा खलिद कैलले १७ रन जोडे । नेपालका लागि गुलसन झाले १० ओभरमा ४७ रन खर्चिएर ५ विकेट लिए । करण केसीले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार गर्यो । नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे । क

झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए । आरिफ शेखले ८८ बलमा ३५ रन बनाउँदा सोमपाल कामी ८ बलमा २० रन बनाए । सन्दीप लामिछाने ११ रनमा नट आउट भए । ओपनर अर्जुन साउद १२ बलमा ५ रन र आसिफ शेखले ११ रन बनाउँदै आउट भए । ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए ।

जित पछि ओमान ५ खेलमा ५ अंकका साथ छटौं स्थानमा छ । पराजित नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्