Logo

दरबारमार्गमा सवारी प्रवेश रोकेर ‘नेशनल डे कन्सर्ट’, कानुनले बर्जित गरेको आतिसबाजी सरकारले गर्दै

काठमाडौं– संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ हुँदैछ। २०७२ साल असोज ३ गते जारी भएको संविधानले आज दशौँ वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा सरकारले नागरिकलाई कन्सर्टमा सहभागि हुन अनुरोध गरिरहेको छ । उक्त कार्यक्रममा आउन सरकारले नागरिकहरुको मोबाइलमा नै म्यासेज पठाएर निम्तो दिएको छ। आज दिउँसो चारदेखि आठ बजेसम्म उक्त कन्सर्ट आयोजना भएको हो ।

‘असोज ३ गते दिउँसो ४ बजे दरबारमार्ग जाऔं, नागरिकस्तरबाट आयोजित नेशनल डे कन्सर्टमा सहभागी बनौं’ भन्दै मोबाइलमा सरकारले म्यासेज पठाएको हो ।

दरबारमार्गमा आज अपराह्न ४ बजेदेखि नै विभिन्न फुड स्टलहरू राखिनेछ। अपराह्न ५ बजेदेखि भने कन्सर्ट सुरू हुनेछ। विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्। गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेल, अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत कलाकारहरूले प्रस्तुती दिँदैछन् । कन्सर्ट बेलुकी ७ बजेसम्म चल्ने र बेलुकी ७ बजेदेखि भने अतिशबाजी गरिने जनाइएको छ ।

नागरिक स्तरको कन्सर्टबाट राष्ट्रिय दिवस मनाउन लागिएकोमा अधिकांश नागरिकले उत्साह देखाएका छन् । संविधान दिवसको अवसरमा सरकारले कन्सर्ट गर्ने भएपछि कतिपयले यसको आलोचनासमेत गरेका छन् । टुँडिखेलको सट्टामा सडक अवरुद्ध गरेर दरबारमार्गमा कार्यक्रम राखेको भन्दै यसको आलोचना गरेका छन् । संविधान दिवसको कन्सर्टका लागि बुधबारदेखि नै दरबारमार्ग सवारीसाधन प्रवेश बन्द गरिएको छ ।

‘सार्वजनिक यातायातमा हिँड्नेलाई २ गते बिहानै देखि दुःख दिने ३ गतेको संविधान दिवस र त्यो कन्सर्ट चाहिएन ।’ सामाजिक सञ्जाल एक्स प्रयोगकर्ता जुँगे बोहरा लेख्छन् ।

यस विषयमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कन्सर्टले संविधानको रक्षा नगर्ने तर्क गरेका छन् । उनी सामाजिक सञ्जाल एक्समा लेख्छन्, ‘निर्जीव संविधानले आम जनताको भान्सामा भात पाक्दैन ,भात खान धान फलाउनै पर्छ , फजुल खर्चिने कन्सर्ट होईन , कुटो र कोदालो बोकौँ, दिनभरको उर्जा उत्पादनमा लगाउ । संविधानको रक्षा आफैं हुन्छ। कन्सर्टले संविधानको रक्षा गर्दैन ।’

कतिपयले नारायणहिटी अगाडी राष्ट्रिय दिवस मनाउँदा गणतन्त्र अझै बलियो भएको मान्यता प्रस्तुत गर्न दरमार्गमा कन्सर्ट गर्न लागिएको टिप्पणी गरेका छन् ।

उता सरकारले साँझ ७ बजेदेखि आठ बजेसम्म अतिसबाजी गरिने जनाएको छ । तर नेपालको कानुनमा नै अतिसबाजी गर्न नहुने व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ। उक्त व्यवस्थामा भनिएको छ,‘कसैले इजाजतपत्र प्राप्त नगरीवा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’

सामान्य विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिकक्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी,पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थसम्झनु पर्छ भनी स्पष्टीकरणमा उल्लेख छ। उपदाफा २ को (ग) मा सामान्य विष्फोटक पदार्थ बिक्री वितरण भएमा तीन वर्षसम्म कैद तीस हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ। पटकाजज्य विष्फोटक पदार्थ आयातमा पनि सरकारले रोक लगाएको छ ।

तर संविधान दिवसको अवसरमा सरकार आफैँले आतिजबाजी गर्ने तयारी गर्नुले नेपालमा कानुन जनतालाई मात्र लाग्ने हो भन्ने प्रश्न खडा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्