Logo

एक अर्काबाट सुरक्षा माग्दै सिके राउत र श्रीमतीले प्रहरीमा दिए छुट्टाछुट्टै निवेदन

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले प्रहरीसँग एक अर्काबाट सुरक्षा माग गरेका छन्।

सिके राउतले केही दिनअघि श्रीमती रानीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका थिए। यता श्रीमती रानीले पनि आफू श्रीमानबाटै असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सातदोबाटोमा पुगेकी हुन्।

उनीहरू दुबै जनाले एकअर्काबाट असुरक्षित भएको भन्दै निवेदन दिएको प्रहरीले जनाएको छ । यसबारे दुबै पक्षसँग छलफल गरी सुरक्षाको प्रत्याभूति गराउने प्रयास गर्ने प्रहरीले जनाएको छ ।

सिके राउतले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेका थिए। उनले अंश र सम्बन्ध बिच्छेद शीर्षकमा मुद्दा दायर गरेका थिए।

लामो समयदेखि सम्बन्ध नमिलेको र बस्न नसकिने अवस्था रहेको भन्दै राउतले मुद्दा दायर गरेका हुन्। राउत ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोलमा बस्छन्। डा. सीके राउतले सम्पत्ति ५ भाग लगाई १ भाग दिएर श्रीमतीसँग सम्बन्धविच्छेद गराई पाऊँ भन्दै मुद्दा दायर गरेका हुन् ।आफ्ना दुई छोरी र एक छोरा भने आफूसँगै राख्न पाउनुपर्ने उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्