Logo

सञ्चालनमा आयो सहुलियत पसल, प्रतिकिलो खाद्य सामाग्रीमा ५ देखि १० रुपैयाँसम्म छुट

काठमाडौं– खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारबाट सहुलियत पसल सञ्चालनमा ल्याएको छ। दसैं, तिहार तथा छठलाई लक्षित गरी कम्पनीले सहुलियत पसल सञ्चालनमा ल्याएको हो।

खाद्य कम्पनीले खरिद गरेका खाद्य वस्तुहरू सहुलियत पसलमा पाइन्छ। त्यसका साथै दुग्ध विकास संस्थानले उत्पादन गरेको घ्यू र साल्ट ट्रेडिङ बिक्री वितरण गर्दै आएको नुन, , ग्यास सिलिन्डर पनि सहुलियत पसलमा राखिएको छ।

सहुलियत पसलमा चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, घ्यू, जिरा, चिउरा, पिठो लगायतका २८ प्रकारका खाद्य वस्तु बिक्रीमा राखिएको छ। सहुलियत पसलमा प्रतिकिलो न्यूनतम पाँच रूपैयाँदेखि अधिकतम दश रूपैयाँसम्म छुट दिइएको छ।

चामलमा प्रतिकिलो पाँच रूपैयाँदेखि सात रूपैयाँसम्म छुट दिइएको छ। कर्णालीको सिमीमा प्रतिकिलो सात रूपैयाँ छुट दिइएको छ। चिनीमा पाँच रूपैयाँ, खानेतेलमा सात रूपैयाँ र सबैभन्दा धेरै घ्यूमा प्रतिकिलो १० रूपैयाँ छुट दिइएको छ। त्यस्तै, चियापत्ती, नुन र ग्यासमा भने छुट दिइएको छैन।

काठमाडौं चक्रपथभित्र होम डेलिभरीको व्यवस्था समेत गरेको छ। त्यसमा पाँच हजार मूल्यभन्दा माथिका सामान खरिद गर्ने ग्राहकले डेलिभरी शुल्क तिर्नु पर्दैन। चाडपर्वलक्षित उक्त सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्