Logo

संविधान दिवसमा १२ सयले धरहरा चढेको रेकर्ड, आइतबारसम्मका टिकट बुक

काठमाडौं– विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको छ । संविधान दिवसको अवसर पारेर बिहिबार सर्वसाधरणलाई खुला गरिएको धरहरा चढ्नेको घुईचो लागेको हो । पहिलो दिन नै एक हजार दुई सय जनाले धरहरा चढेको आधिकारिक रेकर्ड रहेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

टिकट नलिइ धरहरा चढ्ने पनि धेरै रहेको बताइएको छ । जसकारण सुरक्षा व्यवस्थापनमा समेत चुनौती भएको थियो । यसअघि अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन ६ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो। बिहिबार भिड लागेपछि शुक्रबारदेखि भने दैनिक ६ सय जनालाई मात्र व्यवस्थित रुपमा चढ्न दिइने बताइएको छ । जसअनुसार आइतबारसम्म धरहरा चढ्नका लागि टिकट बुक भएसकेको इकाईले जनाएको छ । धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ।

विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो। विसं २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु भएको थियो। सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो। विसं २०७८ वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहरा ठडिएपनि पार्किङ लगायतका काम बाँकी रहेकै समयमा यसको उद्घाटन गरेका थिए।

विसं १८८२मा रण बहादुर शाहकी महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाले ११ तल्ले धरहरा निर्माण गरिएको थियो। उक्त धरहरा विसं १९१३ मा चट्याङ परी भत्किएको थियो । उक्त धरहराको विसं १९२३ मा जीर्णोद्धार गरिएकोमा विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो।

विसं १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तलाबाट नौ तला बनाइएको थियो । जुन विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्