Logo

विवाह गरेको २४ घण्टा पनि बित्न नपाउँदै पुछियो प्रमिलाको सिउँदो

मकवानपुर– तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहको स्वरुप दिएको २४ घण्टा पनि बित्न नपाई एक प्रेमिल जोडीको वियोग भएको छ । मकवानपुरको थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङ र कैलाश–५ गोगनेकी २५ वर्षकी प्रमिला गोलेले २८ भदौमा विवाह गरे ।

तर तीन वर्ष लामो प्रेमसम्बन्धपछि विवाह गरेको यो जोडी पति–पत्नि भएर एक दिन पनि सँगै बस्न पाएनन् ।

तीलक तीन वर्षअघि देवाली पुजा हेर्न प्रमिलालाई गाउँमा पुगेका थिए । त्यहिँ तिलकले प्रमिलालाई मन पराएका थिए । उनीहरुले मोबाइल नम्बर साटासाट गरेर र कुराकानी गर्ने क्रममा उनीहरुको मन पनि साँटियो । यी दुबैको परिवारलाई उनीहरुको प्रेम सम्बन्धको बारेमा थाहा थियो । छिट्टै विवाह बन्धनमा बाँधिने पनि उनीहरुले योजना बताएका थिए ।

तर २८ भदौमा यी जोडीले परिवारसँग सल्लाह नगरी साथीको घरमा तामाङ परम्पराअनुसार सुटुक्क विवाह गरे । त्यही दिन साँझ तिलकका काका काकी र दाजु भाउजुले उनीहरुलाई भित्र्याए । बिबाह भएको रात आफ्नो जन्म घर छाडेर आएको चिन्ता र पराई घरमा आगामी जिन्दगी कस्तो होला सोच्दै निदाउन सकिनन् ।

तिलकपनि रातपनि यताउता छट्पटाएरहेका थिए । प्रमिलाले सोचिन्, ‘तिलकलाई पनि आफुलाई जस्तौ डर लाग्यो होला ।’ बिहान ४ बजेतिर तिलकका हातहरू काँप्न थाले, श्वास फेर्न गाह्रो भयो। प्रमिलाले पानी खुवाइन्।

भोलीपल्छ खाना खाने समयसम्म पनि तिलकलाई सञ्चो भएको थिएन। तर उनी सबैजनासँग सामान्य कुराकानी गरिरहेका थिए । पनि बेला बेलामा परिवार र प्रमिलासँग बोलिरहेकै थिए।

शनिबार दिउँसो करिब १२ बजेतिर हातगोडा लगलग कमाएर तिलक भुईँमा लडे । त्यसपछि उनी फेरी कहिल्यै उठेनन । उनले जिन्दगी भरि सँगै रहने बाचा कसम खाएर भित्र्याएकी प्रमिलालाई २४ घण्टा पनि नपुग्दै सँधैका लागि छाडेर गए । एक दिनमै तिलकले लगाइदिएको सिन्दुर प्रमिलाको निधारबाट पुछियो ।

प्रेसरका कारण उनको मृत्यु भएको परिवारले जनाएको छ । तीन वर्षकै उमेरमा बुबा गुुमाएका तिलककी आमाले गत असारमा मात्र दोस्रो विवाह गरेकी थिइन् । सोहि समयदेखि नै तिलक प्रेसरको बिरामी भएका थिए । उनमा केहि समयदेखि डिप्रेसनको समस्यासमेत रहेको बताइएको छ ।

उता तिलकको मृत्यु भएको पाँच दिन पछि प्रमिलालाई उनको माइती पक्षले लिएर गएको छ । सासु ससुरा र श्रीमान नै नभएपछि प्रमिलालाई उनको माइतीमै राख्ने गरी लगिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्