Logo

सुप्रिम सहकारीकी तत्कालीन कर्मचारी रोशनी गुरुङको बयानः सागर सरले भनेअनुसार डिपोजिटरमा रवि लामिछानेको नाम लेखिदिएकी हुँ

काठमाडौं– सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन कर्मचारी रोशनी गुरुङले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकबाट २ करोड पैसा जम्मा गर्दा उल्लेख गरेको रवि लामिछाने नाम पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने हुन वा होईनन् भन्ने कुरा एकिन नभएको बताएकी छन् ।

सहकारी ठगी छानविनका लागि गठित छानविन समितिलाई उनले दिएको बयानमा रोशनीले भनेकी छन्, ‘व्यवस्थापक सागर केसी सरले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आइएई बैंकको खातामा जम्मा गरेर आउन भन्नुभयो । मैले जम्मा गरेको हो । चेक र क्यास के मार्फत जम्मा गरेको थिएँ मलाई याद भएन । ठूलो रकम त चेकमार्फत नै हुन्थ्यो । रकम बैंकमा डिपोजिट गर्दा डिपोजिटरको नाममा रवि लामिछाने लेखिदिनुपर्छ भनेर सागर सरले भन्नुभएको थियो । तर, बैंकका कर्मचारीले डिपोजिटरको नाममा रहेको व्यक्ति कि उपस्थित हुनुपर्छ कि रवि लामिछानेररोशनी गुरुङ लेख्दा मिल्छ भन्नुभएको थियो । मैले सो विषय सागर सरलाई भनेपछि बैंकले भनेअनुसार रवि लामिछानेररोशनी गुरुङ लेख्दा हुन्छ भन्नुभयो र सोहीअनुसार गरेको थिएँ ।

साथै, रोशनीले कारबाही हुनुपर्नेहरुमाथि कारबाही नभएको गुनासो पोखेकी छन् । उनले साधारण कर्मचारीलाई धेरै टर्चर दिइएको उनको गुनासो छ । सुप्रिममा काम गरेवापत मासिक २१ हजार तलब पाउने गरेकोमा १ वर्षको तलबसमेत सोही सहकारीमा रहेको उनले बयानको क्रममा बताएकी छन् ।

सहकारी ठगी मुद्दामा गत वैशाखमा जिल्ला अदालत रुपन्देहीको आदेशले २ लाख धरौटीमा छुटेको उनले उल्लेख गरेकी छन् । सहकारीको मुद्दामा एक वर्षको काखेबालक लिएर हिँडिरहन परेको उनको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्