Logo

मेडिकल व्यवसायी दुर्गा प्रसाईं निजी निवासबाटै पक्राउ

भक्तपुर– मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

भक्तपुरको कमेरोटारस्थित प्रसाईँको घरमा पक्राउ गर्न पुगेको प्रहरी टोलीले प्रसाईँलाई तीन मिनेटभित्र ढोका खोल्न भनेको थियो । एक घण्टासम्म पनि ढोका नखोली प्रसाईँले भित्रबाट अपशब्द प्रयोग गरेका थिए । सोपछि भर्‍याङ लगाएर प्रहरी प्रसाईँको घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो ।

साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । उनको घरभित्र प्रसाईं र उनीसँगै रहेका केही युट्युबरसमेत पक्राउ परेका छन् ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित तीन जनाविरुद्ध केहिदिनअघि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिएको थियो । साइबर ब्युरोमा प्रसाईँले चरित्र हत्या गरेको उजुरीको आधारमा पक्राउ पूर्जी जारी गरेको हो । यसअघि पनि प्रसाईँका विभिन्न अभिव्यक्तिले उनी प्रहरीको निगरानीमा पर्दै आएका थिए । बैंक तथा बित्तिय क्षेत्रमा ऋण नलिन उक्साएको र कर्मचारीलाई कालोमोसो दल्ने जस्ता अभिव्यक्तिका कारण उनी पहिलेपनि विवादमा तानिएका थिए ।

प्रसाईविरुद्ध यसअघि पनि भक्तपुरबाट पक्राउपूर्जी जारी भएको थियो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर कृष्ण गिरीले मेडिकल सम्बन्धनका लागि २० करोड घुस मागेको बताएपछि डा गिरीले प्रसाईँविरुद्ध २०७६ माघमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएपनि राजनितिक आडले उनी पक्राउ भने परेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्