दुर्गा प्रसाईं पक्राउ परेको विरोधमा झापामा तीन वटा ट्रकमा आगजनी
झापा– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन जलाएका छन् । उनको पक्राउको विरोधमा झापाका छुट्टा–छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेका हुन् ।
कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार आइतबार राति छुट्टा(छुट्टै स्थानमा तीन वटा ट्रकमा आगजनी भएको थियो । आगजनीमा संलग्नको खोजी भइरहेको उनले बताए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका–८ स्थित बिरिङ खोलाको पुलमा आइतबार राति एक मालबाहक ट्रक जलाएका छन् । यूपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।
यस्तै सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ मा डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा आगजनी गरेका छन् । झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् ।
आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ । आगजनी गर्ने व्यक्ति भने पत्ता लागि नसकेको प्रहरीले जनाएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी टोलीले आइतबार मेडिकल व्यवसायी प्रसाईँलाई भक्तपुरस्थित निजी निवासबाटै पक्राउ गरेको थियो ।