Logo

आफू पक्राउ पर्ने सम्भावना देखेपछि प्रधानमन्त्री ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन भनेका छन् ।

आइतबार प्रहरी पक्राउ गर्न सक्ने भन्दै रविलाई खबर गरेपछि उनले राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई न्युयोर्कबाट फर्केर छलफलमा बस्न आह्वान गरेका हुन्।

लामिछानेले भनेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि’

आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछानेको संभावित गिरफ्तारीको खबरले पार्टीभित्र ठूलो हलचल मच्चिएको थियो। त्यसपछि, बनस्थलीस्थित पार्टी कार्यालयमा नेताहरू आन्तरिक छलफलमा जुटेका थिए।

छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका थिए।

उनले आफ्नो विरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोपसमेत लगाए। सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको प्रमाणित भइसकेको भए पनि सरकारले ‘ट्रायल’ गर्न खोजेको आरोप लगाएका थिए। उनको सोही आक्रोश स्ट्याटस मार्फत सामाजिक सञ्जालमा देखिएको हो।

यतिबेला प्रधानमन्त्री ओली भने संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकामा छन् । उनी असोज १४ मा नेपाल फर्कने कार्य तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्