क्युआरबाट पैसा तिर्छु भन्दै पठाओ चालकको मोबाइल चोरीमा संलग्न दुई जना पक्राउ


काभ्रेपलाञ्चोक— पठाओ चालकको मोबाइल चोरी गरेर भाग्ने दुई जना पक्राउ परेका छन् । पठाओ बुक गरेर विभिन्न स्थानमा जाने र क्युआरबाट पैसा तिर्ने बाहनामा मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रपलाञ्चोकको भुम्लु गाउँपालिका–४ का २२ वर्षीय प्रकश महत र ३२ वर्षीय युवराज महत छन् । उनीहरुलाई काभ्रेको बनेपाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनीहरुले विभिन्न मितिमा काठमाडौँ र भक्तपुरबाट काभ्रेपलाञ्चोकको विभिन्न ठाँउमा जान पठाओ बुक गरेका थिए । बनेपा लगायत काभ्रेका विभिन्न ठाउँमा पुगेपछि पठाओ चालकलाई विश्वासमा पारी खाजा खान लैजाने गर्थे । उक्त खाजा घरको बिल र पठाओ चालकको भाडा क्यूआर मार्फत हालिदिने भन्दै नेट नचलेको बहाना गरी बाहिर गएर क्यु आर गरिदिन्छु भनी पठाओ चालकको मोबाइल समेत लिएर गई चोरी गरी फरार रहेको भन्ने उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ रेको हो ।

उनीहरुको हुलियाको आधारमा प्रहरीले उनीहरुको खोज लतास गरेको थियो । सोहि क्रममा बनेपा नगरपालिका–८ तिनदोबाटो स्थित पठाओ चालकलाई काठमाडौं जान बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले प्रकाश महतलाई फेला पारेको थियो ।

प्रकाशले नै सोधपुछको क्रममा युवराज महतसँग मिलेर उक्त चोरी गरेको मोबाइलहरु बेच्ने गरेको भन्ने कुरा खुलाएका थियो । उनको बयानका आधारमा प्रहरीले युवराजलाई पनि पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले पाँच थान मोबाइल समेत बरामद गरेको छ । जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरुमाथी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।