Logo

कास्की जिल्ला प्रशासन अगाडी रविको पक्राउ माग गर्दै सहकारी पीडितको प्रदर्शन, रविलाई पक्राउ नगर्न रास्वपा कार्यकर्ताको चेतावनी

काठमाडौं– रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै कास्कीमा प्रदर्शन भएको छ । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै सूर्यदर्शन सहकारी पीडित बचकर्ताले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडितले रविको पक्राउ माग गर्दै प्रदर्शन गरेका छन् । त्यसकै अगाडी शहीद चोकको चौतारामा भने रास्वपाका नेता कार्यकर्ताले रविलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

सहकारी पीडित र रास्वपाका कार्यकर्ता आमने–सामने हुँदा झडप हुनसक्ने सम्भावना भएपछि जिल्ला प्रशासन तथा शहीद चोक आसपासमा सुरक्षा कडाइ गरिएको छ ।

रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडियासहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । झन्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए।

निर्देशन पाए लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई नियन्त्रणमा लिएको थियो। उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराईँदैछ ।

प्रतिक्रिया दिनुहोस्