Logo

ममता काफ्ले बेपत्ता प्रकरणमा नरेश भट्टको गुगल सर्च हिस्ट्री माग

काठमाडौं– अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नेपाली चेली ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ । यसका लागि अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएका छन् । उनीहरुले नरेशनको लोकेसन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुुगल सर्च वारेन्ट’ पठाएका हुन् ।

अभियोजकतर्फका अधिकारीहरुले गुगलबाट प्राप्त हुने विवरण काफ्ले बेपत्ता प्रकरणमा महत्वपूर्ण प्रमाण साबित हुनसक्ने बताएका छन् । मनसास पार्क प्रहरीले जुलाई २७ देखि अगस्ट २१ सम्मको विवरण मागेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

नरेश पक्षका वकिलले ममता जीवितै रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका थिए । यसको जवाफमा सरकारी वकिलले ममता बेपत्ता भएपछि प्रहरीले नरेशको घरमा खानतलासी गर्नुअघि जुलाई २९ र ३० मा नरेशले थुप्रैपटक आफ्नो कारमा ठूल्ठूला फोहोर राख्ने झोलाहरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको प्रमाण पेश गरेको थियो ।

यस्तै नरेशको घरको खान तलासी लिँदा कोठामा रगत भए नभएको पहिचान गर्न ब्लूस्टार प्रविधि प्रयोग गरेका थिए । त्यसअनुसार, रगत भएको स्थानमा अध्यारो पारेर हेर्दा निलो रंग देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा ममता जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् । उनीहरुको घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । तर ममताको लाश फेला नपरेकाले उनीविरुद्ध लाश बेपत्ता पारेको मुद्दामात्र लागेको छ । ममता हराएको केही समयपछि नरेशनले आफ्नो टेस्ला कार पनि विक्री गरेका थिए । सो कार नियन्त्रणमा लिएर प्रहरीले त्यसको क्यामरा फुटेज र कारबाट पनि जीपीएस लोकेशन डाटा निकाल्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्