Logo

रविलाई आजै पक्राउ गर्नेगरि गृहमन्त्रालयमा सुरक्षा निकायको हाई कमाण्ड बैठक

काठमाडौं– गृहमन्त्रालयमा सुरक्षा निकायका सबै प्रमुखहरुको उपस्थितिमा उच्चस्तरीय बैठक सुरू भएको छ । गृहमन्त्री रमेश लेखकले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो च्याम्बरमा बोलाएर बैठक गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारीमा रहेको प्रहरीलाई अवरोध हुने चर्चाबीच गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कडा एक्शन चाल्न निर्देशन दिन लागेको बताईएको छ । लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली हिजोदेखि नै परिचालित छ ।

तर, रास्वपाका नेता तथा कार्यकर्ताहरुको हुलहुज्जतको कारण लामिछानेलाई पक्राउ गर्न असहज भएको बताईएको छ । प्रहरीले लामिछानेलाई पक्राउ गर्नको लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको बताईएको छ। लामिछानेले भने आफू अनुसन्धानमा सघाउन तयार रहेको बताउँदै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेको पनि नाम किटान गरेर कारबाहीको लागि सिफारिश गरेको छ। हिजोमात्रै रविका पूर्व साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् । प्रहरीले उनलाई काठमाडौंमा पक्राउ गरी हिजै राति पोखरा पुर्याएको हो । आजमात्रै प्रहरीले अदालतमा पेश गरी उनीविरुद्ध ५ दिनको म्याद थपिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्