Logo

देउवा–ओलीले संविधान संशोधन कथामात्रै बनाएका हुन्, एजेन्डा अर्कै छः प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनको कथामात्रै बनाएको टिप्पणी गरेका छन् । सोमबार संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र बास्तविकता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेको एजेण्ड संविधान संशोधन नभएर अर्कै रहेको बताएका हुन् ।

संविधान संशोधनको एजेण्डा भन्दा पनि कांग्रेस–एमालेलाई सरकार चाहिएको उनको टिप्पणी छ । प्रचण्डलाई कुनै पनि हालतमा हटाउनुपर्छ भन्ने निश्कर्षसहित केपी शर्मा ओली र शेरबहादुर देउवाले संविधान संशोधनको कथा बनाएको उनको दाबी छ ।

‘एमाले वा कांग्रेसले पनि संविधान संशोधन गर्नुपर्यो भनेर छलफल गरेको थिएन । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादी केन्द्र नेतृत्वको सरकारलाई कुनै पनि हालतमा हटाउनै पर्ने भयो भन्ने निश्कर्षमा उहाँहरु पुग्नुभयो र त्यतिबेला उहाँहरुले संविधान संशोधन कथा बनाउनुभयो । संविधान संशोधन उहाँहरुको एजेण्डा होईन, अर्कै एजेण्डा हो,’– उनले भने ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भएको भनिएको सात बुँदे सम्झौता पनि हस्ताक्षरसहित सार्वजनिक नगरिएकाले त्यसमा आशंका कामयै रहेको उनले बताए । बिस्तृत शान्ति सम्झौताको हस्ताक्षर कर्ता आफूसँग कुनै छलफल नै नगरी संविधान संशोधनको विषय उठाइएको भन्दै उनले आपत्ति जनाए । संविधानको पूर्ण कार्यान्वयन नगरी सकिएको अवस्थामा संशोधनको विषय उठेको उनले बताए । यद्यपि माओवादी केन्द्र संविधानको अग्रगामी संशोधनको पक्षमै रहेको पनि उनले प्रष्ट पारे ।

‘यदि उहाँहरुले संविधान संशोधन गर्नुथियो र यो संविधान बिस्तृत शान्ति सम्झौताको अंगको रुपमा रहेको छ भने शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग संविधान संशोधनबारे छलफल र बहस गर्न हुँदैन थियो र?’ प्रश्न गर्दै उनले भने, ‘सहमति गरौं, यो विषय जानुपर्यो, राजनीतिक स्थायित्वको लागि चाहियो भनेर दुई चार दिनअघि जतिबेलासम्म म प्रधानमन्त्री थिएँ, प्रधानमन्त्रीसँग छलफल गर्न हुँदैन थियो र? उहाँहरुले लुकाएर गर्नुभयो ।’

 

प्रतिक्रिया दिनुहोस्