दुर्गा प्रसाईँको रिहाई माग गर्दै मुखमा कालो टेप लगाएर प्रदर्शन
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँको रिहाई माग गर्दै उनका समर्थकले प्रदर्शन गरेका छन् ।
प्रसाईँको रिहाई माग गर्दै प्रदर्शनकारीले मंगलबार मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
गत असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्ने अनुमति दिएपछि उनी आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो । आइतबार नै अदालतले हिरासतमा राख्न उनलाई तीन दिनको म्याद थपेको थियो ।