पत्नीको हत्यापछि पतिले गरे आत्महत्या
इलाम– इलामको सन्दकपुरमा एक पुरुषले पत्नीको हत्या गरेर आत्महत्या गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेका उजबहादुर राईले पत्नीको हत्या गरेर आत्महत्या गरेको पाइएको हो ।
४६ वर्षीय राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ । पत्नीको हत्यापछि उजबहादुरले झुन्डिएर आत्महत्या गरेको भेटिएको इलामका एसपी प्रभुप्रसाद ढकालले बताएका छन् ।
प्रहरीका अनुसार घटना सोमबार राति घटेको जस्तो देखिएको छ । चियाको बोट कलमी गर्ने खुर्पाले टाउको, कुम र शरीरको विभिन्न भागमा प्रहार गरेको अवस्थामा फूलकुमारीको शव भेटिएको छ । शव रगतपच्छे अवस्थामा घरभन्दा अन्दाजी १५ मीटर तल बाटोमा शव फ्याँकेको अवस्थामा फेला परेको हो । यस्तै घरदेखि डेढ सय मीटर तल रुखमा झुण्डिएको अवस्थामा उर्जबहादुरलाई भेटिएको छ ।
उनीहरुको घर एकान्त स्थानमा रहेको थियो । उर्जबहादुरकै बुबाले दुध बेच्न डेरी जाने क्रममा बुहारीको शव देखेका थिए । सोपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
मृतक दम्पत्तीको २६ र २० वर्षका गरी दुई छोरा छन् । एक छोरा विदेशमा र एक छोरा फिक्कलमा बस्दै आएको बताइएको छ । पति पत्नी दुवै मदिरा सेवन गर्ने र सामान्य घर झगडा भइरहने गरेको छिमेकीहरुले बताएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ । उनीहरुको शवलाई मंगरबार नै पोस्टमार्टमका लागि इलाम लगिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।