काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राखिएको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी भएको छ ।
दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सोमबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । उक्त रिटको प्रारम्धिक सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेकोबारे सरकारलाई कारण देखाउ आदेश दिएको हो ।
प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए ।उनलाई तत्काल थुनामुक्त गर्न भने सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) ले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएकी थिइन् । सोहि जाहेरीको आधारमा काठमाडौं विद्युतीकारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा प्रसाईंलाई आइतबार प्रहरीले भक्तपुरबाट पक्राउ गरेको थियो । आइतबार नै जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया