काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने तत्कालै पक्राउ पर्ने सम्भावना कम देखिइको छ ।
संसदीय विशेष छानबिन समितिले गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक समिति सदस्य छविलाल जोशीसहित चार जनालाई कारबाही सिफारिस गरेको छ । समितिको सिफारिस कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आदेश दिएपछि आइतबार गोर्खा मिडियाका पूर्व सञ्चालन जोशी पक्राउ परेका थिए ।
सोपछि सभापति लामिछाने पनि पक्राउ पर्न सक्ने भन्दै आइतबार बेलुका रास्वपाको केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा हल्लाखल्ला मच्चिएको थियो । आइतबार राति सभापति लामिछाने पनि पार्टी कार्यालयमा नै थिए । तर उनी पक्राउ पर्ने हल्ला चलेपनि हालसम्म पक्राउ परेका छैनन् । गोरखा मिडियाका साँझेदार छविलाल जोशी पक्राउ परिसकेपनि रवि लामिछानेको पक्राउको लागि हालसम्म पक्राउ पूर्जी जारी नभएको बुझिएको छ ।
छविलाल सार्वजनिक व्यक्ति नभएकाले प्रहरीले उनलाई पक्राउ गरेको तर रवि पब्लिक व्यक्ति भएकाले तत्कालै पक्राउ गर्न नसकिने अवस्था भएको प्रहरीका एक अधिकारीले जानकारी दिए । पूर्व गृहमन्त्रीसमेत रहेका रवि राजनितिक व्यक्ति भएकाले उनको पक्राउका लागि प्रहरीले माथिल्लो तहको आदेश नै पर्खने उनले बताए ।
हाल प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागीता जनाउन संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । उनी असोज १४ गते स्वदेश फर्किने कार्यतालिका छ ।
यसैगरी, प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर पनि ग्रिस गएका छन् । इन्टरपोलको बैठकमा भाग लिन सोमबार प्रस्थान गरेका उनी असोज १५ गते फर्किने कार्यक्रम छ । रवि पक्राउ परेमा अराजकता फैलन सक्ने भएकाले प्रधानमन्त्री र आईजीपी दुवै स्वदेश नफर्किकन प्रहरीले रविको पक्राउ गर्न कुनै कदम नचाल्ने उनले बताए ।
प्रतिक्रिया