Logo

असोजमा पनि तराईमा अत्यधिक गर्मी, बालबालिकालाई विद्यालय जानै समस्या

काठमाडौं– आकाशे निलो सर्ट लगाएर कक्षाकोठामा पढ्न बसिरहेका छन् स–साना बालबालिकाहरु । तर कापीमा सिसाकलमले कालोपाटीमा लेखिएका कुराहरु सारिरहेका छन् । तर उनीहरुको अध्ययनमा ध्यान भन्दा पनि मुहारमा सकस देखिएको छ ।

उनीहरुको निधार र अनुहार मुख धोएको जस्तै गरि पसिनाले निध्रुक्क भिजेको छ ।तस्बीरमा देखिएका बालक झापाको झापा गाउँपालिका वडा नं २ मा रहेको श्री त्रिभुवन आधारभुत विद्यालयका विद्यार्थी हुन् । उनीहरु ३७ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा कक्षा कोठामा बसेर निकै कष्टपूर्ण तरिकाले पढीरहेका छन् ।

पछिल्लो एक सातादेखि अत्यधिक गर्मी बढेका कारण तराईका अधिकांश बालबालिकाहरुको अवस्था यस्तै बनेको छ । गर्मी धेरै बढेपछि कतिपय विद्यालयले बिदासमेत दिएका छन् । धेरै गर्मी बढेपछि झापाकै कचनकवल गाउँपालिकाका विद्यालयहरुमा मंगलबार बिदा दिइएको छ ।

केहिदिनदेखि तराई क्षेत्रमा ३८ देखि ४५ डिग्री सेल्सियससम्म तापक्रम मापन भएका छन् । लगातार गर्मी बढ्न थालेपछि मोरङका पालिकाहरुले विद्यालयमा बिदासमेत दिएका छन् ।

गर्मी बढेपछि रंगेली नगरपालिका, ग्रामथान गाउँपालिका र जहदा गाउँपालिकाले पालिका भित्रका विद्यालय बन्द रहने सूचना जारी गरेका छन्। रंगेली नगरपालिकाले मंगलबार र बुधबार गरि दुई दिन र ग्रामनाथ र जहदा गाउँपालिकाले मंगलबार बिदा दिएका छन् ।

महोत्तरीको मनराशिशवा नगरपालिकाले सोमबारदेखि ६ दिनका लागि विद्यालय बन्द गरेको छ । धनुषाका छिरेश्वरनाथ नगरपालिका र हंसपुर नगरपालिकाले पनि गर्मी बढेपछि विद्यालयमा बिदा दिएको छ। छिरेश्वरनाथले बुधबारसम्म र हंसपुरले बिहिबारसम्म पालिकाभित्र विद्यालयमा बिदा दिएका हुन् ।

गर्मी बढेका कारण बालबालिकामा विद्यालय आउजाउन गर्न समस्या भएको र बिरामी पनि पर्न थालेपछि बिदा दिएको ती पालिकाहरुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्