Logo

प्रेमिकालाई हत्या गरेर सिमेन्टको तहमुनी गाडेको शव १६ वर्षपछि भेटिएपछि…

सोल– दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको र उनको शवलाई आफ्नो बालकोनीमा सिमेन्टको तहमुनि गाडेको स्वीकार गरेका छन् । सोपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्योङ्गनाम प्रान्तीय प्रहरी र गेओजे प्रहरी चौकीका अनुसार हाल ५० वर्ष उमेरका ती पुरुषलाई सन् २००८ अक्टोबरमा एउटा झगडाका क्रममा महिलाको हत्या गरेको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार उनले महिलालाई कुनै भुत्ते हतियारले प्रहार गरी हत्या गरे र उनको शरीरलाई एउटा ठूलो यात्रा झोलामा राखे ।

त्यसपछि उनले शवलाई आफ्नो बालकोनीमा इँटा थुपारेर १० सेन्टिमिटर मोटो सिमेन्टको तह खन्याएर लुकाए । ती महिला आफ्नै परिवारसँग सम्पर्कमा नभएकाले तीन वर्षपछि मात्र हराएको रिपोर्ट गरिएको थियो ।

सन् २०११ को हराएको व्यक्तिको जाँचका क्रममा ती पुरुषले प्रहरीलाई उनीहरूको ‘ब्रेकअप’ भएको बताएका थिए र प्रमाणको अभावमा मुद्दा सुल्झिएको थिएन ।

शवलाई सानो बालकोनीको स्थानमा फिट गरिएको थियो । शव भएको कोठा ‘सन् २०१६ देखि लगभग खाली’ रहेकाले शव पहिले भेट्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले पत्रकारहरूलाई बताए । घरधनीले उक्त कोठालाई भण्डारण स्थानका रूपमा प्रयोग गरिएको बताएका थिए ।

गत महिना कोठामा पानी चुहावट भएपछि त्यसको मर्मत गर्ने कामदारले शव भएको यात्रा झोला फेला पारेका थिए । उक्त झोलाको परिक्षण गर्दा प्रहरीले महिलाको शव ‘केही हदसम्म संरक्षित’ भएको पाएको थियो ।

“शरीर पूरै रूपमा हाडखोरमा परिणत नभएकाले हामीले औँठा छापमार्फत उनको पहिचान गर्न सक्यौँ”, प्रहरीले भनेको छ । ती पुरुषलाई सोधपुछका लागि ल्याइएपछि अन्ततः उनले हत्या स्वीकार गरेका थिए ।

प्रहरीले ती पुरुषलाई ‘अभियोजनका लागि पठाइने’ बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्