काठमाडौं– नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आसन्न सम्मेलनलाई लिएर विद्यार्थी नेताहरूले उम्मेदवारी दाबी पेश गर्न थालेका छन् । यसैक्रममा पवन कार्कीले केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कार्की हाल केन्द्रीय उपाध्यक्ष छन् ।
अध्यक्ष उम्मेदवार कार्कीले आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको नभई, उत्तरहरूको आन्दोलन बनाउन भएको बताएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका छन् । उनले भनेका छन्, ‘मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको हैन, उत्तरहरूको आन्दोलन बनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । मेरो उम्मेदवारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्दै समाजवादी शिक्षा वहाली गर्नका निम्ति हो ।’
उम्मेदवारीको औचित्य दिँदै कार्कीले लेखेका छन्, ‘मेरो उम्मेदवारी राजनीतिक एजेण्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनलाई विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति हो । र, मेरो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिडाउनका निम्ति हो ।’ आज विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनेर स्यालहुइयाँ पिट्ने प्रवृत्तिले टाउको उठाउन खोजिरहेको कार्कीको जिकिर छ ।
क्रान्तिकारीको २३औं सम्मेलन यही असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ ।
प्रतिक्रिया